रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सामेल परीक्षार्थीले बोकेका ४ सय ६९ थान मोबाइल बरामद गरिएको छ ।
विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न प्रयोजनका लागि परीक्षार्थीहरूले आफ्नो शरीरमा मोबाइल लुकाइ छिपाइ परीक्षा हलभित्र प्रवेश गरेकोमा चेकजाँचका क्रममा फेला पारी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार परीक्षा हलभित्र गार्डको रूपमा खटिएकाहरू नै चिट चोराउन सक्रिय देखिए । उनीहरूले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको र अमर्यादित क्रियाकलाप गरेको भन्दै दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपक कुमार रायले बताए ।
परीक्षा सञ्चालन भएको तीन दिनको अवधिमा १२ सय ३३ थान मोबाइल बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।