पायल्सको समस्या झेलिरहेका व्यक्ति खानपानबारे बढी नै सतर्क हुने गर्छन् । उनीहरु सोधिरहेका हुन्छन्, ‘मैले के खान हुँदैन, के खान हुन्छ ?’ उनीहरुको सूचीमा धेरैजसो नखाने खानेकुरा समेटिन्छ । स्वभाविक हो, मलद्वारमा समस्या आउनुमा पेटको भूमिका मुख्य हुन्छ र पेटमा समस्या आउनु खानपानसँग जोडिन्छ । अस्वस्थ र असन्तुलित खानपानले पायल्स जस्ता मलद्वारसम्बन्धी रोग निम्त्याउन सक्छ ।
चिल्लो, मसालेदार खानेकुरा, जो सजिलै पच्दैन यस्ता खानेकुरा पायल्सको कारण बन्न सक्छ । साथै अनिद्रा, मानसिक तनाव, गर्भवती महिला र कुनैकुनै औषधि सेवनको साइडइफेक्टको रुपमा पनि पायल्सको समस्या निम्तिन्छ । पायल्सको प्रमुख कारणको रुपमा कब्जियतलाई नै राखिन्छ । कब्जियत हुँदा दिसा गर्दा बल पर्छ । त्यही बलले गुद्वारभित्रका रक्तशिरा तन्किने क्रम फैलिन थाल्छ । विस्तारै गिर्खा बन्न थाल्छ । पायल्स एउटा यस्तो रोग हो, जसमा खानपानसँग सम्बन्धित कुरामा विशेष ध्यान दिनु जरुरी हुन्छ । पायल्सबाट बच्न यी खानेकुराबाट बच्नुपर्छ ।
धेरै मसालेदार खाना
धेरै मसालेदार खाना खाँदा पायल्सको समस्या निम्तन सक्छ । तारेको(भुटेको मासु, समोसा, पकौडा जस्ता खानामा तेल, मसला र खुर्सानी धेरै मात्रामा हुन्छ । यस्ता खानाले आन्द्रा चलाउन गाह्रो बनाउन सक्छ, जसले कब्जियत निम्त्याउँछ । कब्जियतसँगै पायल्सको समस्या पनि निम्त्याउँछ । साथै, यस्ता खानेकुरामा फाइबर निकै कम हुने भएकाले दिसालाई कडा बनाउँछ र पायल्सको दुखाइ बढाउँछ । यस बाहेक खुर्सानी जस्ता मसलाले मलद्वार पोल्ने तथा रगत बग्ने पनि हुनसक्छ ।
कफी
कफीको मुख्य तत्त्व क्याफिन पाचनका लागि राम्रो मानिंदैन । क्याफिनको सेवनले कब्जियत हुन्छ र शरीरमा डिहाइड्रेसन पनि हुन्छ । यो समस्या बढ्दै गएपछि पायल्सको समस्या निम्तिन सक्छ ।
पहिले नै पायल्सको समस्या भएका व्यक्तिले धेरै मात्रामा कफीको सेवन गर्दा दिसा पास हुन गाह्रो भएर शौचमा थप मिहिनेत गर्नुपर्ने हुनाले मलद्वारको मांसपेशी बाहिर निस्कन थाल्छ र सुन्निने गर्छ ।
चुरोट, रक्सी
चुरोट खाने व्यक्तिको पाचनशक्ति कमजोर हुन्छ । आन्द्राको चाल पनि राम्ररी हुँदैन । चुरोटले मलद्वारमा रगतको प्रवाह बढाउँछ, जसले संक्रमणको जोखिम पनि बढाउँछ । रक्सीको सेवनले शरीरमा डिहाइड्रेसन हुन्छ । शरीरमा पानी कम हुँदा दिसा कडा हुन्छ । यसले आन्द्राको गतिविधिलाई प्रभावित पार्न सक्छ ।
दुग्धजन्य
केही व्यक्तिमा दूध तथा दूधबाट बनेका अन्य परिकार सेवन गर्दा कब्जियतको समस्या हुनसक्छ । दूधमा हुने प्रोटिन कब्जियतको कारण बन्ने र कब्जियतले पायल्सको समस्या निम्तिन सक्छ ।