बेलौरी, कञ्चनपुर
कञ्चनपुरको बेलौरी नगरपालिकाले शुक्रबार प्रकाशित गरेको आधारभूत तह (कक्षा ८)को नतिजामा नगर क्षेत्रका तीन विद्यालयले अत्यन्त कमजोर प्रदर्शन गरेका छन् भने तीन विद्यालयले शतप्रतिशत सफलता हासिल गरेका छन्।
नगरपालिकाका ३४ विद्यालयबाट परीक्षामा सहभागी भएका १ हजार २ सय २४ जना विद्यार्थीमध्ये ६ सय १६ जनाले मात्र ग्रेड प्राप्त गरेका छन्। समग्र ग्रेड प्राप्ति दर ५२.२९ प्रतिशत रहेको छ। बाँकी ५ सय ६२ जना विद्यार्थीले भने ग्रेड प्राप्त गर्न सकेनन् ।
शून्य नतिजा : तीन विद्यालयमा एक जना पनि उतीर्ण भएनन् !
बेलौरी नगरभित्र रहेका गोरखनाथ माध्यमिक विद्यालय, कालिका आधारभूत विद्यालय र श्री कृष्ण आधारभूत विद्यालयका कुनै पनि विद्यार्थी उतिर्ण हुन सकेनन्। यी विद्यालयबाट क्रमशः २७, २५ र १७ जना परीक्षार्थी सहभागी भएका थिए।
शैक्षिक क्षेत्रको यस्तो प्रदर्शनले विद्यालयको पठनपाठन प्रक्रिया, विद्यार्थीको नियमितता र शैक्षिक स्रोतको अवस्थाप्रति गम्भीर प्रश्न खडा गरेको छ।
निजी विद्यालयमा उत्कृष्ट नतिजा
अर्कोतर्फ नगरका तीन निजी विद्यालयले भने १०० प्रतिशत सफलता हासिल गरेका छन्।
शत प्रतिशत नतिजा ल्याउने विद्यालयहरुमा लिटिल गार्डन इङ्लिश बोर्डिङ स्कुल, श्री रेजेन्सी एकेडेमी, र सनराइज विद्या सदन इङ्लिश स्कुल रहेकाे सार्वजनिक नतिजामा उल्लेख छ।
तीनवटै विद्यालयबाट परीक्षा दिएका सबै विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। निजी क्षेत्रको यो प्रदर्शनले शैक्षिक व्यवस्थापन र पठनपाठनको गुणस्तरमा निजी विद्यालयहरू अझ सशक्त रहेको संकेत गरेको छ।
“२५ प्रतिशतले सुधारिएको छ” – शिक्षा शाखा प्रमुख भट्ट
बेलौरी नगरपालिका शिक्षा शाखाका प्रमुख अमित प्रसाद भट्टले यस वर्षको नतिजालाई सकारात्मक संकेतको रूपमा लिएका छन्।
रेडियो सुदूर सञ्चार संगकाे टेलिफोन कुराकानीमा उनले भने,“गत वर्षको तुलनामा यस वर्ष नतिजामा झन्डै २५ प्रतिशतले सुधार आएको छ। यसले विद्यार्थीको नियमित उपस्थिति, विद्यालयहरूको प्रयास र अभिभावकको चासोमा सकारात्मक परिवर्तन आएको संकेत गर्छ।”
उनले थपे,“यद्यपि अझै धेरै विद्यालयमा अपेक्षित सुधार आउन सकेको छैन। त्यसैले अब हामी कमजोर प्रदर्शन गरेका विद्यालयहरूलाई प्राथमिकतामा राखेर लक्षित सुधार कार्यक्रम ल्याउने तयारीमा छौं। शिक्षकको क्षमता अभिवृद्धि, सिकाइ प्रक्रियामा सुधार, र नियमित अनुगमन प्रणालीलाई सुदृढ गर्दै शिक्षाको गुणस्तर वृद्धि गर्ने योजनामा नगरपालिका लागिपरेको छ।”
शिक्षा क्षेत्रकाे सुधार आवश्यक
नगरपालिकाले अबका दिनमा कमजोर विद्यालयहरूको पहिचान गरी शिक्षक तालीम, नियमित अनुगमन, र विद्यार्थी केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। पालिकाले अभिभावकको सक्रिय सहभागिता र विद्यालयहरूको उत्तरदायित्वसहित समग्र शिक्षा क्षेत्रकाे सुधार आवश्यक रहेको औंल्याएको छ।
निष्कर्ष : सम्भावना र चुनौती
बेलौरी नगरपालिकाको आधारभूत तह कक्षा ८काे नतिजाले शिक्षा क्षेत्रमा सुधारका सम्भावना र चुनौती दुवै उजागर गरेको छ।
निजी विद्यालयहरूको उत्कृष्ट प्रदर्शनले राम्रो अभ्यासको उदाहरण प्रस्तुत गरे पनि सामुदायिक विद्यालयहरूको पछिल्लो अवस्था भने चिन्ताजनक नै देखिन्छ।
यद्यपि स्थानीय सरकार, शिक्षक, विद्यार्थी र अभिभावक बीचको सहकार्य मार्फत मात्रै यस्ता शैक्षिक चुनौती समाधान गरि सम्भावना पहिल्याउन सकिने विशेषज्ञहरू बताउँछन्।