बेलाैरी, कञ्चनपुर –
कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित गणेश मा.वि बरैयामा आयोजित तेस्रो नगरपालिका स्तरीय भेट्रान भलिबल प्रतियोगिता–२०८१ सम्पन्न भएको छ।
तीन दिनसम्म सञ्चालन भएको (डे-नाइट) प्रतियोगितामा भीमदत्त नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै शनिबार उपाधि हात पारेको हो।
फाइनल खेलमा बेलाैरी वडा नम्बर ६ लाई पराजित गर्दै भीमदत्त नगरपालिकाले उपाधि जित्दा, तृतीय स्थानको लागि धनगढी संग भएको खेलमा आयाेजक "ए"ले विजय हासिल गरेको थियो।
सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् पूर्व भाैतिक विकास मन्त्री प्रकाश बहादुर देउवाले चैत २८ (बिहीबार) उद्धाटन गरेको प्रतियोगिताकाे समापन कञ्चनपुर जिल्ला समन्वय प्रमुख दुर्गा बोहराले गरेका थिए ।
पुरुष भेट्रान प्रतियोगितामा ७ टोलीको प्रतिस्पर्धा
वडा खेलकुद सञ्चालन समिति अध्यक्ष तेजबहादुर चन्दका अनुसार ४० वर्ष माथिको पुरुष भेट्रान प्रतियोगितामा विभिन्न छिमेकी पालिकासहित कुल ७ टोलीले सहभागिता जनाएका थिए। उनका अनुसार प्रतियोगिता भेट्रान खेलाडीहरूबीच आपसी समझदारी, मित्रता र सहकार्य अभिवृद्धि गर्नुका साथै खेलकुदप्रतिको लगाव बलियो बनाउने उद्देश्यले आयोजना गरिएको हो।
उनले भने, “भेट्रान खेलाडीहरूलाई पुनः सक्रिय बनाउँदै उनीहरूको अनुभवबाट युवापुस्तालाई प्रेरणा दिने हाम्रो उद्देश्य सफल भएको छ। यस्ता प्रतियोगिता आगामी दिनमा पनि निरन्तर गर्दै लैजाने प्रतिबद्धता लिएका छौं।”
नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र
प्रतियोगितामा विजयी तीन टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। पहिलो स्थान हासिल गर्ने टोलीलाई २५ हजार नगद, दोस्रोलाई १५ हजार र तेस्रो स्थानलाई ७ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
विजेताहरूलाई जिल्ला समन्वय प्रमुख दुर्गा बोहरा, वडा अध्यक्ष प्रकाश श्रेष्ठ, बेलाैरी प्रहरी निरीक्षक भाष्कर चन्द, खेलकुद विकास समिति अध्यक्ष तेजबहादुर चन्दलगायत विशिष्ट अतिथिहरूले पुरस्कृत गरेका थिए।
स्थानीय सरकारको प्रतिबद्धता
कार्यक्रमका सभापति एवम् बेलौरी नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश श्रेष्ठले खेलकुदको माध्यमबाट सामाजिक एकता र स्वास्थ्य सुदृढीकरणमा टेवा पुग्ने बताउँदै यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाउन वडा कार्यालय प्रतिबद्ध रहेको बताए।
“खेलकुदले समुदायमा अनुशासन, समर्पण र नेतृत्व विकास गर्छ,” अध्यक्ष श्रेष्ठले भने, “हामी आगामी दिनमा अझ धेरै टोलीको सहभागिता हुनेगरी कार्यक्रमको दायरा बढाउने प्रयासमा छौं।”सहभागी सबैलाई धन्यवाद ।
दर्शकको उत्साह र सहभागिता
प्रतियोगिता हेर्न बरैया र आसपासका क्षेत्रबाट सयौं दर्शकहरुको उपस्थिति थियो। स्थानीय दर्शकहरूको उत्साह, खेलाडीहरूको जोश र आयोजक समितिको व्यवस्थापनले प्रतियोगितालाई विशेष बनाएको सहभागीहरू बताउँछन्।
समापन समारोहमा अतिथिहरूले खेलाडीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गर्नुका साथै आगामी दिनमा खेलकुद गतिविधिमा थप लगानी र सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।
सहयोगीप्रति धन्यवाद
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ। आयोजकहरूका अनुसार, यस्ता प्रतियोगिताहरूले समुदायमा सकारात्मक ऊर्जा फैलाउने र खेलकुदको माध्यमबाट सामाजिक परिवर्तनमा योगदान पुर्याउने विश्वास लिइएको छ।