बेलौरी, कञ्चनपुर -
नेपालमा जारी व्यापक शिक्षक आन्दोलनले देशैभरका शैक्षिक संस्थाहरू प्रभावित पारिरहेका बेला कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा अवस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय जब्दियाले विद्यार्थी भर्ना अभियान अनिश्चितकालका लागि स्थगन गरेको छ।
विद्यालय प्रशासनले ०८२ बैशाख २ गते एक सूचना प्रकाशन गर्दै भर्ना प्रक्रिया तत्कालका लागि बन्द गरिएको जनाएको छ।
नेपाल शिक्षक महासंघकाे अगुवाइमा भइरहेको आन्दोलनले यतिबेला समग्र शिक्षा प्रणालीलाई नै हल्लाइरहेको छ।
संघीय सरकारप्रति असन्तुष्टि जनाउँदै महासंघले विगतमा भएका सम्झौता कार्यान्वयन गरी नयाँ शिक्षा ऐन तत्काल लागू गर्न जाेडदार माग अघि सारेको छ।
भने आन्दोलनको असर देशभरका सामुदायिक विद्यालयमा देखिन थालेको छ।
विद्यालयको आधिकारिक सूचना : आन्दोलनप्रति ऐक्यबद्धता र भर्ना स्थगन
श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र सिंह भण्डारीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ :
नेपाल शिक्षक महासंघद्वारा नयाँ शिक्षा ऐन लागू गराउने मागसहित सञ्चालन गरिएको शान्तिपूर्ण शैक्षिक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान र सम्पूर्ण शैक्षिक गतिविधि अर्को सूचना नआएसम्म स्थगन गरिएको जानकारी गराइन्छ।
विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक–कर्मचारीलाई आन्दोलनमा सहभागी भई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ भने अभिभावक र विद्यार्थीहरूलाई धैर्य गर्न, भ्रममा नपर्न र थप जानकारीका लागि विद्यालय प्रशासनसँग सम्पर्कमा रहन पनि अपिल गरेको छ।
विद्यालय प्रशासनले भने – “हामी आन्दोलनको पक्षमा छौं, तर विद्यार्थीकाे बारेमा चिन्तित छौं”
प्रधानाध्यापक भण्डारीले एक छोटो कुराकानीमा बताए :
हामी अहिले आन्दोलनमा छौं, चिन्तित पनि छाैं। हाम्रो माग शिक्षक अभिभावक र विद्यार्थीहरुकाे हितमा छ । तर विगतमा भएको सम्झौता कार्यान्वयनमा भने सरकार आनाकानी गरिरहेको छ ।, शिक्षण पेशा र शिक्षकहरूको सुरक्षाका लागि नीति, संरचना र ऐन आवश्यक छ।
तर हाम्रो विद्यालयले विद्यार्थी र अभिभावकलाई असर कम गर्न सक्दो प्रयास गरिरहेको छ।”
उनले थपे,
शैक्षिक हड्ताल अन्त्य भएलगत्तै हामी तुरुन्तै भर्ना प्रक्रिया अगाडि बढाउनेछौं।
अभिभावकको मनोविज्ञान : अन्योल, निराशा र आशंका
विद्यालयको सूचना सार्वजनिक भएपछि बेलौरी क्षेत्रका धेरै अभिभावक र विद्यार्थीमा अन्योलता सृजना भएको छ।
"विद्यालय बन्द, आन्दोलन चर्किंदै — अब हाम्रो बच्चा कहाँ पढ्ने?" बेलौरी–२ की एक अभिभावक भन्छिन्, "हामीले चाहेका थियौं कि नयाँ सत्र सुरु हुँदासम्म सबै ठिक हुन्छ, तर अब आन्दोलन अझै बलियो बन्दै गएको देखिन्छ। बच्चाको भविष्यको चिन्ता भइरहेको छ।"
शिक्षक आन्दोलनको पृष्ठभूमि : के भन्छ शिक्षक महासंघ?
सरकार! सम्झौता कार्यान्वयन गर, नयाँ शिक्षा ऐन तुरुन्त पारित गर।
शिक्षकहरूको स्थायित्व सुनिश्चित गर ।
आन्तरिक सरुवा तथा पदोन्नति प्रक्रिया न्यायसंगत गर।सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धिमा ध्यान देऊ..आदि।
यसरी महासंघले आन्दोलनको स्वरूपलाई चरणबद्ध रुपमा सञ्चालन गर्दै आएको छ — कक्षा बहिष्कार, क्षेत्रीय प्रदर्शन, र शिक्षामन्त्री तथा सचिवका कार्यालय घेराउ सम्मका कार्यक्रम समेत हुन थालेका छन्।
स्थानीय तहको मौनता र सामुदायिक नेतृत्वको चासो
हालसम्म स्थानीय सरकारहरुले औपचारिक प्रतिक्रिया दिएका छैनन्। विद्यालयको निर्णयलाई स्थानीय राजनीतिक तथा सामाजिक व्यक्तिहरूले मिश्रित प्रतिक्रिया भने दिन थालेका छन्।
बेलाैरीका स्थानीय युवा नेता श्यामु चौधरी भन्छन्, "शिक्षकहरूको माग जायज छ, तर आन्दोलनको असर विद्यार्थी र अभिभावकमा नपर्नु पर्ने थियो। सरकारले तत्काल वार्ता सुरु गरेर समाधान खोज्नुपर्छ।"
दृष्टिकोण : सेवा निवृत्त शिक्षकहरुकाे एक्यवद्धता, प्रणाली धरापमा
बेलाैरी क्षेत्रका शिक्षा विश्लेषक प्रेम सिंह बाेहरा भन्छन् :
आन्दोलनरत शिक्षकहरुका माग जायज छन् । यसमा नेपाल अधिराज्य भरका हामी सेवा निवृत्त ५९ हजार ४ सय ६६ शिक्षकहरुकाे पनि एक्यबद्धता छ । सरकारले विगतमा गरेका सम्झौता सरासर अब कार्यान्वयन गर्नुपर्छ।, वार्ता र छलफल हाेइन !
"तर, विद्यार्थी भर्ना जस्तो शैक्षिक प्रक्रिया अवरुद्ध हुनु भनेको समग्र शिक्षा प्रणालीमा असर पर्नु हो।
सरकारले यसलाई राजनीतिक विषय नबनाई, सामाजिक दायित्वका रूपमा लिनुपर्छ रेडियो सुदूर सञ्चार संगकाे टेलिफोन कुराकानीमा उनलेे भने।" शिक्षक आन्दोलन समाधानमा जान अब ढिला हुनुहुँदैन।
अब के? आशा–निराशाबीचको पर्खाइ
श्री लक्ष्मी मावि जब्दियाले आन्दोलन अन्त्य भएपश्चात् तुरुन्तै भर्ना प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाएको छ। तर त्यो कहिले हुने भन्ने प्रश्न भने अझै अनुत्तरित छ।
शिक्षक आन्दोलनले उठाएको मुद्दाहरू गम्भीर छन्, तर समाधान नखोजिएसम्म शिक्षक अभिभावक र विद्यार्थी बीचको समझदारी, निराशा र अन्योलता सृजना हुने सम्भावना देखिन्छ ।