७ दिनभित्र दर्ता नभए फेसबुक नचल्ने

होमपेज / समाचार /
७ दिनभित्र दर्ता नभए  फेसबुक नचल्ने
  • रेडियो सुदूर सञ्चार
  • १३ बैशाख २०८२ (९ महिना अघि)
  • ४६०

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलाई ७ दिनभित्र नेपालमा दर्ता हुन अन्तिम चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मेटालाई पटक-पटक दर्ता हुन आग्रह गरिए पनि वेवास्ता गरेको बताए।

“तीन पटक सूचना जारी गर्‍यौं, तर उनीहरूले वास्ता गरेनन्। अब सात दिनभन्दा बढी दिन्न,” मन्त्री गुरुङले भने, “हामी खोज्दै गयौं, तर उनीहरू भन्छन्, नेपाल हाम्रो संस्थाभन्दा सानो छ। नेपालको जीडीपी कति हुन्छ र भनेर घमण्ड गर्छन्।

मन्त्री गुरुङका अनुसार मेटाका विभिन्न प्लेटफर्म-फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम-मार्फत नेपालबाट दिनहुँ लाखौं रुपैयाँको आर्थिक गतिविधि भइरहेको छ। तर, कम्पनीले नेपालमा दर्ता नभई करसमेत तिरेको छैन।

“हामीसँग दर्ता पनि हुँदैन, कर पनि तिर्दैनन्, तर यहाँको समाजबाट पलपलमा पैसा लुट्छन्,” मन्त्री गुरुङले भने, “देशको स्वाधीनता पैसामा जोडिँदैन। नेपाल सरकारको अधिकार र स्वाभिमानलाई चुनौती दिन छुट छैन।”

उनले गलत सूचना र भ्रम फैलाउने माध्यमका रूपमा मेटाका प्लेटफर्म प्रयोग भइरहेकाले त्यसलाई नियमन आवश्यक रहेको बताए।नेपाल सरकारको यो चेतावनी पछिको मेटाको प्रतिक्रिया के हुन्छ भन्ने चासो बढेको छ।

अन्तिम अध्यावधिक: १३ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस