बेलौरीमा मिनी कभर्डहल निर्माणकार्य सुरु, प्रदेश सभा सदस्य विष्टद्वारा शिलान्यास

होमपेज / समाचार /
  • शीतल भट्ट
  • १८ बैशाख २०८२ (४ घण्टा अघि)
  • १४४

बेलौरी, कञ्चनपुर –

बेलौरी नगरको खुला मञ्चमा मिनी कभर्डहलमा निर्माणकार्य सुरु भएको छ। शुक्रबार सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टद्वारा विधिवत रूपमा कभर्डहलको शिलान्यास गरिएको हो।

शिलान्यास समारोहमा बोल्दै प्रदेश सभा सदस्य विष्टले खेलकुद पूर्वाधारको विकासले स्थानीय युवामा सकारात्मक ऊर्जा थप्ने उल्लेख गरे। उनले भने, “यस क्षेत्रको खेलकुद विकासका लागि म निरन्तर प्रयासरत छु। हालका लागि कभर्डहल निर्माणमा २० लाख रुपैयाँ प्रारम्भिक बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षमा प्रदेश सरकारमार्फत थप बजेट सुनिश्चित गर्नेछु।”

संविधानसभा सदस्य एवम् प्रदेश विद्यायन समिति संयोजकसमेत रहेका विष्टले मिनी कभर्डहलले स्थानीय खेलाडीहरूलाई अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले थपे, “यसले स्थानीय प्रतिभा उजागर गर्न ठूलो सहयोग पुर्‍याउनेछ।”

मिनी कभर्डहलको निर्माण बेलौरी नगरपालिकाको समन्वय, सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीय युवाको सक्रिय पहलमा अगाडि बढाइएको हो। निर्माण समिति अध्यक्ष राजबहादुर चन्दले युवाको खेल भावना सम्बोधन गर्न सबैले देखाएको चासोप्रति आभार व्यक्त गरे।

कभर्डहल निर्माणका लागि चन्दको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको छ। जसको उपाध्यक्षमा बसन्त पुन मगर, सचिवमा रजनीश भण्डारी, कोषाध्यक्षमा भगवती श्रेष्ठ रहेका छन् भने सदस्यहरूमा शिशिर चापागाईं, भागवती जोशी र राधा विष्ट छन्।

स्थानीय समाजसेवी दिनेश कुँवरले - “कभर्डहल निर्माणले स्थानीय युवामा नयाँ उत्साह र हाैसला थपिएको बताए। उनले भने, “स्थायी खेल संरचना नहुँदा ओझेलमा परेका धेरै युवाहरू अब खुलेर आफ्नो क्षमता देखाउन पाउनेछन्।”

कार्यक्रममा खेल प्रेमी समाजसेवी, स्थानीय युवा तथा सर्वसाधारणको उपस्थिति थियो। सहभागीहरूले विकासमा नागरिक सहभागिता अनिवार्य रहेको भन्दै कर्भडहल निर्माणले समग्र नगरको पहिचान थप बलियो बनाउने धारणा व्यक्त गरे।

निर्माण सम्पन्न भएपछि मिनी कभर्डहलमा डबलकाेड ब्याडमिन्टन, भलिबल लगायतका खेलहरू सञ्चालन गरिनेछ। यसले बेलौरी नगरभित्रको खेलकुद गतिविधिमा नयाँ गति ल्याउने अपेक्षा गरिएको छ।

प्रदेश सभा सदस्य विष्टले अन्य स्थानीय विकास योजनाहरू पनि क्रमिक रूपमा कार्यान्वयन हुँदै जाने बताए।

अन्तिम अध्यावधिक: १८ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस