बैतडी -
बैतडीका २० हजार ८३ परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् । अहिलेसम्म २० हजार ३ परिवारका ५२ हजार जना स्वास्थ्य बिमामा आबद्ध रहेको स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख जमनसिंह बडालले जानकारि दिए । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाका दश ओटै स्थानीय तहमा संयोजन समिति गठन गर्ने कामसमेत भइरहेको बडालले बताए । जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकामा यसअघि नै स्वास्थ बिमा संयोजन समिति गठन भईसकेको छ । बाँकी पालिकाहरुमा पनि समिति गठन गर्ने कार्य भइरहेको उनले बताए ।
अहिले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा स्वास्थ्य बिमा संयोजन समिति गठन गर्न लागिएको बडालले बताए । सम्बन्धित स्थानीय तहका प्रमुख तथा अध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने प्रावधान रहेको छ ।स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकको सहजता र स्वास्थ्य बिमामा आम नागरिकको पहुँच पुर्याउन स्थानीय तहमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको उनले बताए । स्वास्थ्य बिमामा आबद्ध हुँदा ५ जनासम्म सदस्य भएको परिवारले ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक बर्षका लागि १ लाखसम्मको उपचार सुविधा पाउने बडालले बताए । स्वास्थ्य बिमाको सेवा निरन्तर रुपमा पाउन हरेक बर्ष बीमा नवीकरण गर्नुपर्ने प्रावधान छ ।
५ जना भन्दा बढीको स्वास्थ्य बिमा गर्न चाहे प्रति सदस्य थप ७ सय रुपैयाँका दरले प्रिमियम तिर्नुपर्ने र उहानीहरुले प्रति थप सदस्य २० हजारका दरले उपचार सेवा पाउने प्राबधान रहेको बडालले बताए । हालसम्म बिमा गरेको तीन महिनापछि मात्रै लागुहुने गरेको स्वास्थ बिमा अबदेखि तुरुन्तै लागुहुने भएको छ । बैतडीमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर स्वास्थ्य केन्द्र मेलौलीमा स्वास्थ्य बिमाका बिरामीले सेवा पाउने व्यवस्था छ । जिल्लामै तीन ठाँउबाट स्वास्थ्य सेवा प्रवाह भएपछि दुर्गमका नागरिकलाई सेवा लिन सहज भएको छ । सहजै परिवारका पाँच जनासम्मको उपचार गर्न मिल्ने भएकाले २०७६ सालदेखि स्वास्थ्य बिमामा आबद्ध रहेको पाटन नगरपालिका ६ का लालसिंह बिष्टले बताए
गरिब तथा विपन्न नागरिकको लागि स्वास्थ्य बिमा धेरैनै प्रभावकारी रहेको र पुजीमा नभएको अवस्थामा पनि ढुक्क भएर उपचार गर्न मिल्ने भएको हुँदा ज्यादै खुसी लागेको पन्चेश्वर गाउँपालिका ३ का कालु जोशी बताए । रोजगारी नभएका, एकल महिला, विपन्नलाई तथा खर्च नभएर उपचार गराउन नसक्नेका लागि स्वास्थ्य बिमा साहारा बनेको दशरथचन्द नगरपालिका ६ का नारायणदत्त जोशीले बताए ।