पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिने भएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति बैठकले भारतले गएराति थालेको क्षेप्यास्त्र आक्रमणलाई जघन्य अपराध भन्दै जवाफ दिने निर्णय गरेको हो ।
बैठकले पाकिस्तानी सार्वभौमसत्तामाथि भारतले धावा बोलेको निष्कर्ष निकाल्दै आक्रमणको निन्दा गरेको छ । संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ५१ उद्धृत गर्दै पाकिस्तानले आफ्नो प्रतिरक्षा गर्न पाउने अधिकार आफूसँग भएको बताएको छ । पाकिस्तानका सैन्य बलहरूलाई भारतलाई जवाफ दिने गरी कारबाही गर्न पाउने अधिकार दिइएको पाकिस्तानले बताएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफको अध्यक्षतामा बैठक बसेको बीबीसीले जनाएको छ । समितिको बैठकपछि प्रकाशित विज्ञप्तिमा पाकिस्तानले पाँच वटा भारतीय लडाकू विमान र ड्रोन खसालिदिएको दाबी गरेको छ । पाकिस्तानी भूमिमा आतङ्ककारीहरूका शिविर भएको भारतीय आरोपको पाकिस्तानले फेरि खण्डन गरेको छ ।
यस्तै पाकिस्तानले इस्लामाबादमा रहेको भारतीय कूटनीतिक नियोगका उपप्रमुखलाई बोलाएर विनाउक्साहट भारतबाट पाकिस्तानी भूमिमा हवाई हमला भएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।
भारतले पाकिस्तानी भूमिमा सैन्य कारबाही थालेपछि दुवै देशले एकअर्कालाई विभिन्न आरोप लगाएका छन् । दुवै पक्षका सेनाबीच सीमावारपारि गोलाबारी पनि भएको छ ।
भारतीय सेनाले आफ्नो भूमिमा कम्तीमा १० जना सर्वसाधारणको ज्यान गएको जनाएको छ । यस्तै पाकिस्तानी सेनाले भारतीय आक्रमणबाट २६ जना सर्वसाधारण मारिएका दाबी गरेको छ । मारिनेमध्ये १० जना आफ्नो परिवारका सदस्य र चार जना निकट सहयोगी रहेका संयुक्त राष्ट्रसङ्घले आतङ्ककारी भनेको पाकिस्तान निवासी मौलाना मसुद अजहरले बताएका छन् ।
भारतले अहिले पाकिस्तानी भूमिमा थालेको सैन्य कारबाहीलाई 'अपरेशन सिन्दूर' नामकरण गरेको छ । आफूले पाकिस्तानका सैन्य स्थललाई नभई आतङ्ककारीहरूका थलोलाई लक्ष्य गरेको दाबी भारतको रहेको छ ।
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पानी भारतकै लाभका लागि जोगाइने घोषणा गर्नुभएको छ । तर यसो भन्दा उहाँले पाकिस्तानसँगको तनावको प्रसङ्ग भने निकाल्नुभएन ।
यस्तै भारत सरकारले आज देशभरि 'सिभिल डिफेन्स' पूर्वाभ्यास (मक ड्रिल) गरेको छ । विद्यालयमा पढ्ने बालबालिकालाई पनि कार्यक्रममा सहभागी गराएको बीबीसीले जनाएको छ । गृह मन्त्रालयले यस्तो पूर्वाभ्यासका लागि अस्ति सोमवार नै निर्देशन दिएको थियो ।