बेलाैरी, कञ्चनपुर —
बेलौरी नगरपालिका–४ स्थित ऐतिहासिक कालिका मन्दिर क्षेत्रको संरक्षणका लागि सुरु गरिएको मेसिनरी पर्खाल निर्माणकार्य सम्पन्न भएको छ।
राष्ट्रपतिको चुरे–तराई–मधेश संरक्षण विकास समिति अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाइ, लम्की कैलालीको सहयोगमा सञ्चालन गरिएको कालिका मन्दिर परिसरकाे मेसिनरी पर्खाल निर्माण सम्पन्न भएको समितिले जनाएको छ। उक्त संरचना धार्मिक, पर्यावरणीय र सामुदायिक दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।
सालसालैको बाढी र डुबानका कारण मन्दिर परिसरमा हुने क्षतिको जोखिम न्यूनीकरण गर्न प्रविधिबाट ५२ मिटर लम्बाइको मेसिनरी पर्खाल निर्माण गर्ने भनिएपनि साेही लागतमा ७० मिटरबढीकाे पर्खाल निर्माण गरिएको र अझै केही रकम बचेको कालिका मन्दिर निर्माण समिति संयोजक प्रकाश राज पन्तले बताए।
कालिका मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई क्षेत्रीय पहिचान र सांस्कृतिक सम्पदाको प्रतीक पनि हो। दशैं, कालरात्रि, चैते दशैंजस्ता पर्वहरूमा यहाँ हजारौं श्रद्धालु दर्शनका लागि आउने गर्छन्।
मन्दिर क्षेत्रको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै संरक्षणको आवश्यकता बढ्दै गएपछि मन्दिर समितिको पहलमा यो योजना अघि बढाइएको थियो।
कालिका मन्दिर निर्माण तथा संरक्षण समिति सचिव अमित भट्टराईका अनुसार “वर्षायाममा डुबान र कटानले मन्दिर र वरपरका संरचनामा असर पार्न थालेपछि स्थायीत्वका लागि संरचना निर्माणको आवश्यकता महसुस गरिएको हो।,
०८१ फागुन १८ गते मन्दिर निर्माण समिति र कार्यक्रम कार्यान्वयन इकाइबीच सम्झौता भएको थियो। सम्झौताअनुसार २० असार ०८२ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भएपनि समय अगावै निर्माण सम्पन्न गरिएको सचिव भट्टराईले बताए ।
परियोजनाको कुल लागत रु. ११ लाख ४७ हजार ३७५ रुपैयाँ ९४ पैसा रहेको छ। सो मध्ये चुरे कार्यालयबाट रु. ९ लाख ९६ हजार ५९५ रुपैयाँ ८५ पैसा लगानी गरिएको छ भने उपभोक्ता समूहबाट नगद तथा श्रम स्वरूप रु. १ लाख ५० हजार ७८० रुपैयाँ ०९ पैसा बराबरको योगदान रहेको छ।
कालिका मन्दिर निर्माणकाे बाँकी रकम अन्य स्रोत र जनसहभागिताबाट जुटाइएकाे थियो । शुक्रबार कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख विमल रावत नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको बताइएको छ। निरीक्षणपछि रावतले समयमै, पारदर्शी र गुणस्तरीय रूपमा योजना सम्पन्न गरेकाेमा खुसी व्यक्तगर्दै भने, “यो योजना केवल पर्खाल निर्माणका लागि होइन, धार्मिक स्थलको सुरक्षा र स्थानीय स्थायित्वका लागि हो, यस समितिलाई धन्यवाद।”
कालिका मन्दिर संरक्षण समितिका संयोजक प्रकाश राज पन्तले संरचनाले मन्दिर मात्र नभई सम्पूर्ण समुदायको पहिचान सुरक्षित गर्ने विश्वास व्यक्त गर्दै उनलेे कार्यक्रम कार्यान्वयन इकाई लम्कीका प्रमुख रावतलाई मन्दिरमा खादा माला सहित सम्मान गरेका छन्।
स्थानीय उपभोक्ता समितिका सदस्यहरूका अनुसार योजना अघि बढेपछि समुदायमा ऐक्यबद्धता, श्रमदान र सक्रिय सहभागिता उल्लेखनीय रूपमा अघि बढेको थियोे।
भक्तजनहरूका अनुसार संरचना सम्पन्न भएसंगै अब मन्दिर सुरक्षित हुने, डुबान र कटानको समस्या अन्त्य हुने, दर्शनार्थीको चाप बढ्ने र धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, चुरे संरक्षणको अभियानमा समेत सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिइएको छ।
मन्दिर समितिले, स्थानीय सरकार, सरोकारवाला निकाय, नागरिक समाज र समुदायको सक्रिय सहभागीतालाई समेत प्रशंसा गरेको छ।
कालिका मन्दिर क्षेत्रको संरक्षणका लागि अगाडि बढाइएको यो प्रयास मेसिनरी पर्खाल निर्माणमा सीमित मात्रै नरही धार्मिक, सांस्कृतिक र प्राकृतिक धरोहर जोगाउने दीर्घकालीन पहलको रूपमा समेत हेर्न सकिन्छ।