सरकार फेरिएसँगै अघिल्ला वर्षका धेरै कुरा नीति तथा कार्यक्रममा फेरियाे : प्रधानमन्त्री

होमपेज / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २८ बैशाख २०८२ (४ दिन अघि)
  • १३०

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिएको दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको बताउनुभयो ।

केही सांसदले पहिलेको कुरा खै भनेर प्रश्न गरेको भन्दै प्रधानमन्त्री ओलीले एउटा सरकारको ठाउँमा अर्को सरकार निर्माण भएजस्तै अघिल्लो सरकारको नीति–कार्यक्रम परिवर्तन गरिएको बताउनुभयो ।

विकास–निर्माणको ढाँचा र सुस्त गतिको संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने भन्दै उहाँले आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा सबै स्पष्ट हुनुपर्ने बताउनुभयो । थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गर्ने, चालू परियोजनालाई आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गर्ने र प्रतिनिधिसभाको यस अवधिभित्र सम्पन्न हुनेगरी वर्गीकरण गरी निर्धारण गरिएको समय तालिकामा सम्पन्न गर्ने नीति नयाँ भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको नयाँ मार्गचित्र तयार गर्ने र शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउने नीति अघि सारिएको बतउनुभयो ।

यस्तै प्रधानमन्त्रीले संसद‍्मा विचाराधीन ६ वटा विधेयक यथाशीघ्र पारित गर्न जोड दिनुभएको छ । उहाँले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, सङ्घीय निजामती सेवासम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक, विद्यालय शिक्षा विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गर्नुपर्ने बताउनुभएको हो ।

अन्तिम अध्यावधिक: २८ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस