भारतका स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३६ वर्षीय कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।
उनले १ सय २३ टेस्टमा ४६ दशमलव ८५ को औसतमा ३० शतक र ३१ अर्धशतकसहित ९ हजार २ सय ३० रन बनाएका छन् । भारतीय टेस्ट क्रिकेट टिमका कप्तान रोहित शर्माले गएको हप्ता क्रिकेटको सबैभन्दा लामो फर्म्याटबाट सन्न्यास लिने आश्चर्यजनक घोषणा गरेपछि कोहलीको यो निर्णय आएको हो ।
यसले सन् २०१२ मा राहुल द्रभिड, भीभीएस लक्ष्मण र पछि सचिन तेन्दुलकर र वीरेन्द्र सहवागको सन्न्यासपछि भारतीय क्रिकेटले कहिल्यै नदेखेको पूर्णस्तरको सङ्क्रमणको सङ्केत गर्छ ।
विराट कोहलीले सन् २०११ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । कोहलीले ६८ टेस्टमा टिमको कप्तानी गरेकामा ४० मा जीत र १७ मा हार बेहाेर्दा ११ खेल बराबरीमा सकिएकाे छ । भारत लगातार दुई पटक टेस्ट च्यापियनशिपको फाइनलमा पुग्दा पहिलोमा कोहलीले टोलीको नेतृत्व गरेका थिए ।
आफ्नो स्वर्णिम समयमा कोहलीले सन् २०१६ मा ७५ दशमलव ९३, २०१७ मा ७५ दशमलव ६४, २०१८ मा ५५ दशमलव ०८ र २०१९ मा ६८ दशमलव ०० को औसतमा रन बनाएका थिए । सन् २०१६ देखि २०१८ बीचको अवधिमा उनले ३५ टेस्टमा ६६ दशमलव ५९ को औसतमा ३ हजार ५ सय ९६ रन बनाएका थिए जसमा ५८ इनिङ्समा १४ शतक र आठ अर्धशतक थिए ।
विराट काेहलीले यसअघि नै टी–२० क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । अब काेहलीले भारतबाट एकदिवसीय क्रिकेटमा मात्र खेल्नेछन् ।