शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना सकियो

होमपेज / विविध /
  • रेडियो सुदूर सञ्चार
  • ३० बैशाख २०८२ (८ घण्टा अघि)
  • १२९

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न खरमजुरको गणना गरिएको छ । निकुञ्ज कार्यालयको समन्वयमा नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)  र कञ्चनपुर पन्छी संरक्षण समूहले एक सातासम्म खरमजुर गणना गरेको हो । लोपको सँघारमा पुगेको यो प्रजातिका चराको सङ्ख्या, अवस्था पत्ता लगाउन हरेक वर्ष यसै बेला खरमजुर गणना गर्ने गरिन्छ । 

निकुञ्ज क्षेत्रमा खरमजुर गणना सम्पन्न भए पनि त्यसको रिपोर्ट आउन बाँकी रहेको सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए। “शुक्लाफाँटा निकुञ्ज कार्यालयको अनुमतिमा बिसिएनले खरमजुरको गणना गरिसकेको छ,” उनले भने, “यो वर्ष खरमजुरको अवस्था के कस्तो छ, त्यसको रिपोर्ट आउन अझै बाँकी छ ।”

पाटेबाघभन्दा पनि दुर्लभ भइसकेको खरमजुर तीव्र गतिमा हराइरहेका छन् । गत वर्ष वैशाखमा यो निकुञ्जमा पहिलो चोटि गणना गर्दा एउटा पनि खरमजुर भेटिएका थिएनन् । जेठमा दोस्रो पटक अवलोकन र ‘स्विप एन्ड सर्च’ विधिबाट गणना गर्दा मात्रै दुई पोथी र तीन भाले गरी पाँच वटा खरमजुर फेला परेका थिए । त्यसबेला शुक्लाफाँटाको घाँसे मैदानमा चार वटा र किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा एउटा पोथी खरमजुर देखिएका निकुञ्ज कार्यालयले जानकारी दिएको छ । 

यो वर्षको तथ्याङ्क अहिलेसम्म सार्वजनिक नभए पनि खरमजुरको अवस्था सन्तोषजनक नरहेको जनाइएको छ । खरमजुर घाँसमा बस्ने, लुक्ने गर्छ । सङ्ख्याको हिसाबले कम रहेकाले देख्नै मुस्किल हुने गर्छ तर प्रजनन सिजनमा भाले खरमजुर घाँसे मैदानमा २०र३० मिटरमाथि उफ्रेर नाच्ने गरेको बताइन्छ । योबेला खरमजुरको प्रजनन समय हो । 

नेपालमा शुक्लाफाँटासहित मुलुकका केही सीमित ठाउँमा मात्रै खरमजुर पाइने गरेको अभिलेख छ । सन् २०२१ मा शुक्लाफाँटामा सात वटा खरमजुर फेला परेका थिए । यसै गरी सन् २०२३ मा गणना गर्दा पाँच वटा खरमजुर अभिलेख भएका थिए ।   

अन्तिम अध्यावधिक: ३० बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस