एसएसबीद्वारा चाँदनीका नेपाली नागरिकको घर निर्माणमा अवरोध

होमपेज / समाचार /
  • निरु चौधरी
  • ३१ बैशाख २०८२ (१ दिन अघि)
  • ४५९

कञ्चनपुर -

कञ्चनपुरको सीमावर्ती क्षेत्र दोधारा चाँदनी नगरपालिका–१, पशुपति टोलमा घर निर्माणमा गरिरहेका एक नेपाली नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको छ। दशगजा क्षेत्रभित्र निर्माण भइरहेको भन्दै एसएसबीले लक्ष्मण सुनारको घर निर्माण रोक लगाएको हो।

घरधनी लक्ष्मण सुनारका अनुसार उनले कानुनी प्रक्रिया पूरा गरी गत वर्ष भोजराज अवस्थीसँग १० धुर जमिन खरिद गरेका थिए र सोही जग्गामा घर बनाउने कार्य थालेका थिए। तर निर्माणको जग खनिएपछि भारतीय सुरक्षाकर्मी आएर धम्क्याएको उनले बताए।

“गत वर्ष भोजराज अवस्थीसँग १० धुर जमिन किनेको हुँ,” सुनारले भने, “लालपुर्जासहितको जमिनमा अमिन बोलाएर नापजाँच गरेर घर बनाउन थालेको थिएँ। तर एसएसबी आएर ‘यो दशगजा हो, अहिले बनाए पछि भत्काउनुपर्छ’ भनेर दवाव दिए।”

सुनारले निर्माण कार्य रोक्दै हाललाई जग खनेर छाडेका छन्। उनले आफू नेपाली भूमि भित्रै घर बनाउँदै गर्दा भारतीय पक्षबाट आएको हस्तक्षेपप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे।

“आफ्नै दर्ता भएको जमिनमा घर बनाउन नपाउनु दु:खद छ,” उनले भने, “झन नेपाली सुरक्षासँग समन्वय नगरी सिधै रोक लगाउनु अपमानजनक हो।”

स्थानीय बासिन्दाहरूका अनुसार सो क्षेत्रमा वि.सं. २०२३ सालदेखि नै नेपालीहरूको बसोबास रहँदै आएको छ। यस्ता अवरोधका घटनाहरू यसअघि पनि कञ्चनपुरका विभिन्न सीमावर्ती बस्तीहरूमा दोहोरिइरहेका छन्।

दोधारा चाँदनी–१ का वडाध्यक्ष विक्रम चन्दले नेपाली नागरिकको घर निर्माणमा अवरोध भएको पुष्टि गर्दै मेयरलाई जानकारी गराइसकेको बताए।

“तीन दिनअघि एसएसबी आएर त्यो स्थान दशगजा हो भन्दै दुई हात मात्र घर बनाउन आग्रह गरे,” वडाध्यक्ष चन्दले भने, “अब उक्त स्थानमा स्पष्ट नापजाँच आवश्यक देखिन्छ — नेपाली दर्तावाला जमिन कता हो र दशगजा कता पर्छ भन्ने कुरा एकिन गर्न जरुरी छ।”

कञ्चनपुर सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले पनि सुनारले घर बनाउन लागेको स्थान दशगजामा पर्ने जनाएको छ।

“सुनारले आफ्नो दर्ता क्षेत्रभन्दा अगाडि दशगजातर्फ घर बनाउने प्रयास गरेकाले एसएसबीले रोक लगाएको देखिन्छ,” सशस्त्र प्रहरीले जनाएको छ, “तर यस्तो विषयमा समन्वय र छलफलबाट समाधान खोजिनुपर्छ।”

यद्यपि, भारतीय सुरक्षाबलले नेपाली सुरक्षासँग समन्वय नगरी सिधै हस्तक्षेप गरेकोप्रति स्थानीयवासीहरू आक्रोशित छन्। उनीहरूले भारतीय पक्षले पटक–पटक नेपालमाथि हेपाहा प्रवृत्ति देखाउने गरेको भन्दै आलोचना गरेका छन्।

अन्तिम अध्यावधिक: ३१ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस