बुटवल -
संविधान दिवसको अवसरमा आममाफी पाएर जेलमुक्त भएका एक व्यक्तिले आफ्नै पूर्वपत्नी र दुई नाबालक छोरीको हत्या गरेका छन्।
बुटवल उपमहानगरपालिका–११, होराइजन चोकस्थित मिलिजुली पथमा बुधबार बिहान भएको यस हृदयविदारक घटनाले स्थानीय समुदायमा ठूलो सनसनी फैलिएको छ।
हत्या आरोपमा पक्राउ परेका व्यक्ति हुन् — ३५ वर्षीय सुरज कोइराला, जो यसअघि आफ्नै दाजुको हत्या अभियोगमा १० वर्ष जेल सजाय भोगिसकेका थिए। संविधान दिवसको अवसरमा आममाफी पाई केही साताअघि मात्रै उनी जेलमुक्त भएका थिए।
प्रहरीका अनुसार कोइरालाले बुधबार बिहान करिब ४ बजेतिर ३३ वर्षीया पूर्वपत्नी दीपा बस्याल, सात वर्षीया छोरी स्नेहा र चार वर्षीया छोरी हिमानीको चक्कु र हेम्बर प्रहार गरी हत्या गरेका हुन्। घटनामा प्रयोग भएका हतियार घटनास्थलबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्रीका अनुसार प्रारम्भिक अनुसन्धानमा कोइरालाले योजनाबद्ध रूपमा हत्या गरेको देखिएको छ। "पूर्वपत्नीको पुनःविवाह र छोरीहरू आफ्नो सन्तान नभएको विषयमा असन्तुष्ट रहेकै कारण उनले यो जघन्य अपराध गरेका हुन सक्ने आशंका गरिएको छ," एसपी क्षेत्रीले भने।
दीपा बस्यालले कोइराला जेल गएका केही समयपछि दोस्रो विवाह गरेकी थिइन्। हत्या गरिएका दुबै छोरी बस्यालका दोस्रो श्रीमानबाट जन्मिएका हुन्, जो हाल वैदेशिक रोजगारीमा छन्।
घटनापछि कोइरालालाई तत्काल नियन्त्रणमा लिइएको र हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक बयानमा उनले अपराध स्वीकार गरेको प्रहरी स्रोतको भनाइ छ।
यस घटनाले संविधान दिवसको नाममा दिइने आममाफीको प्रक्रिया र त्यसको प्रभावमाथि गम्भीर प्रश्न खडा गरेको छ। गम्भीर प्रकृतिका अपराधीलाई समाजमा पुनःस्थापनाको नाममा बिना पर्याप्त मूल्याङ्कन र मनोपरामर्श आममाफी दिने सरकारी नीतिको आलोचना सुरु भएको छ।
स्थानीय बासिन्दा घटनाबाट स्तब्ध छन्। उनीहरूले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेका छन्। समाजमा यस प्रकारका पुनः अपराध रोक्न गम्भीर सोच र नीतिगत पुनरावलोकन आवश्यक भएको आवाज चर्किएको छ।
हत्या जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई पुनः स्वतन्त्र समाजमा फर्काउने नीति कत्तिको उचित हो भन्ने बहस फेरि सुरु भएको छ।