उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको दाबी गर्नुभएको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज काठमाण्डाैमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बजेटको कार्यान्वयन पनि सकारात्मक हुने विश्वास गर्न आग्रह गर्नुभयो । विगतका साढे ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेकोले ६ प्रतिशतको वृद्धिदर हासिल असम्भव नरहेको उहाँकाे भनाइ छ ।
अर्थमन्त्री पौडेलले लक्ष्य अनुसारको राजस्व सङ्कलनका लागि थोरै मेहनत गर्न आवश्यक रहेको तर लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । उहाँले स्रोतको विषयमा चिन्ता नगर्नका लागि सबैलाई आग्रह गर्नुभयो । युवा उद्यमीहरूलाई सशक्त रूपमा पहल गरेको पाैडेलकाे दाबी छ ।