कोशी प्रदेशमा मनसुन भित्रिएको २४ घण्टा नबित्दै बाढी र पहिरोबाट पूर्वी नेपालमा क्षति भएको छ । बाढी र नदी कटानले धनकुटा, सुनसरी, इलाम र उदयपुरका विभिन्न सडक खण्ड अवरुद्ध रहेका कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
इलामको माई नगरपालिका वडा नम्बर ७ मा पक्की सडक खण्डमा पहिरो खसेपछि बाटो एकतर्फी मात्रै सञ्चालनमा छ । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ मा रहेको नमस्ते झरना छेउमा पहिरो झर्दा कोशी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।
यस्तै साँगुरीगढीमै लेउदी खोलाले १०० मिटर कटान गर्दा कोशी लोकमार्ग अवरुद्ध भएको छ । धनकुटाकै चौबिसे गाउँपालिका वडा नम्बर ४ मा निर्माणाधीन सडक खण्डको छरुवा खोलामा बाढी आउँदा तमोर करिडोर अवरुद्ध बनेको छ ।
यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ नयाँ पुल खोलामा पहिरो झर्दा चतरा–बराह क्षेत्र सडक अवरुद्ध रहेको छ । उदयपुरमा बेलका नगरपालिका वडा नम्बर ८ कोठु खोलामा पहिरो झरेपछि मैनामैनी–चुहार–भोजपुर सडक अवरुद्ध छ ।
पूर्व–पश्चिम राजमार्गको पूर्वी खण्डमा गएरातिको अविरल वर्षापछिको बाढीले निर्माणाधीन एशियन हाइवे का ३ वटा डाइभर्सन बगाएको छ । बाढीले बगाएका ३ वटै डाइभर्सन मेचीनगर नगरपालिका क्षेत्रका हुन् ।