निरु चाैधरी / बेलौरी, कञ्चनपुर —
गरिबी निवारणको लक्ष्यसहित बेलौरी नगरपालिकाले सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम अन्तर्गतको चप्पल उत्पादनसम्बन्धी सीप विकास तालिम आइतबार एक औपचारिक समारोहबीच सम्पन्न भएको छ।
कार्यक्रमको समापन नगर प्रमुख पोतीलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे। उक्त तालिम नगरपालिकाको आर्थिक सहयोग र प्राविधिक समन्वयमा सञ्चालन गरिएको थियो, जसअन्तर्गत नगर क्षेत्रका महिलाहरूलाई चप्पल उत्पादनसम्बन्धी आवश्यक सीप प्रदान गरिएको थियो।
तालिममा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आत्मनिर्भरता र स्वरोजगारतर्फ अगाडि बढ्न प्रेरित गरिएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख पाेतीलाल चौधरीले भने, “सीप छ भने रोजगारी आफैं सिर्जना हुन्छ। हाम्रा महिलाहरूले यस्तो तालिमबाट नयाँ सम्भावना पाएका छन्। हामी एक घर एक उद्यम भन्ने लक्ष्यसहित अगाडि बढिरहेका छौं।”
उनले थपे, “गरीबी हटाउने मुख्य आधार भनेकै सीपयुक्त समाज हो। बेलौरी नगरपालिका आगामी दिनमा पनि यस्ता व्यावसायिक तथा व्यवहारिक तालिमलाई प्राथमिकता दिनेछ।”
तीन साता लामो उक्त तालिममा सहभागी महिलाहरूले हातमै प्रयोग हुने औजारबाट चप्पल तयार गर्ने सीप, डिजाइन, सामग्री छनोटदेखि बिक्री प्रवर्द्धनसम्मका व्यवहारिक ज्ञान सिकेका छन्। तालिमको नेतृत्व अनुभवी प्रशिक्षकहरूको टोलीले गरेको थियो।
कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रशिक्षक, तथा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रशिक्षार्थीहरूले तालिमले आफूहरूमा आत्मविश्वास बढाएको र अब स्वरोजगारमार्फत आयआर्जन गर्न सक्ने स्थितिमा पुगेको प्रतिक्रिया दिएका थिए।
प्रमाणपत्र वितरणसँगै सहभागीहरूलाई बजार पहुँच, उत्पादको मूल्यवर्द्धन, र थप तालिममार्फत उन्नत उत्पादन प्रविधिको अवसर उपलब्ध गराइने प्रतिवद्धता पालिकाले जनाएको छ।
बेलौरी नगरपालिकाको यस्तो पहलले महिला उद्यमशीलता प्रवर्द्धन, आर्थिक समावेशीकरण, र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने दिशामा सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिँदैछ।