ट्रेण्डिङ

६ महिनापछि घर फर्किए तिङ्करवासी

होमपेज / समाचार /
चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनः गाउँ फर्किए
  • रेडियो सुदूर सञ्चार
  • १८ जेठ २०८२ (३ महिना अघि)
  • ३९५

दार्चुला – 

दार्चुलाको उत्तरी सिमानामा रहेकाे तिङ्कर गाउँमा स्थानीयवासी ६ महिनापछि गाउँ फर्किएका छन् । गएकाे मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनः गाउँ फर्किएका हुन् ।

गएको मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीयवासी वैशाख अन्तिम हप्तामात्रै पुनः फर्किएका छन् । ‘६ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवीदेवता भरोसामा जस्ताको तस्तै रहेछ’, स्थानीयवासी जसपाल तिङ्करीले भन्नुभयो, ‘छोडिएका घरका ताला खुलेका छन् ।’ गाउँलेहरू घर फर्किएपछि अहिले चहलपहल बढेको छ ।

तिङ्कर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन । स्थानीयवासी भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन् । वडा नम्बर १ का सदस्य हितेश बुढाथोकीले भन्नुभयो, ‘आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ ।’ आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसूस हुने गरे पनि समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ ।

केही वर्षअघि तिङ्कर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो । गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयवासीले केही वर्षदेखि आफ्नै गाउँ फर्किन भारतीय भूमि र भारतीय अनुमतिको भर पर्नुपरेको छ । व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी भन्नुहुन्छ, ‘व्यास गाउँपालिका–१ को छाङ्गरु तिङ्कर जोड्ने गरी पटक पटक बजेट नगएको भने होइन । तर नियमन निकायको अभाव भयो । बजेटको सही प्रयोग हुन नसक्दा यो बाटो कहिल्यै बनेन ।’ तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समितिमार्फत बजेट गयो । २०७४ सालमा स्थानीय सरकार बनेपछि गाउँपालिकाले लगानी गर्‍याे । गएकाे वर्ष पनि बाटो मर्मत करोड खर्च भयो । तर बाटोको अवस्था उस्ताको उस्तै छ ।

विगतमा केही ठाउँमा भारतीय सडक निर्माणका क्रममा नेपालतिरको बाटो अवरुद्ध भएको स्थानीयवासी बताउँछन् । ठाउँ ठाउँमा भारतले महाकाली नदी किनारैकिनार सडक बनाउँदा बाँध बाँधिदिँदा नेपालतर्फको बाटो क्षति हुन पुगेको छ । केही ठाउँमा पहिरो गएपछि बाटो अवरुद्ध भयो । तम्बाकुलगायत क्षेत्रमा नेपालतिर नदीले पूरै कटान गरेपछि पूर्णरूपमा बाटो बन्द भएको वडाअध्यक्ष योगेश बोहरा बताउनुहुन्छ ।

नेपालतिर बाटो नबनेकै कारण व्यासका नागरिक मात्र होइन, व्यासमा कार्यरत सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म, इलाका प्रहरी कार्यालय छाङ्गरु, बीओपी तिङ्कर तथा सीमा चौकी तिङ्करी प्रहरीलगायतले भारतकै बाटोको भर पर्नुपरेको छ । सरकारले विशेष अनुदानअन्तर्गत चालू आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैयाँ बजेट पठाएको भए पनि बोलपत्रमा ढिलाइ हुँदा बाटो बन्न सकेन । निर्माण कम्पनी छनोटमा भएको ढिलाइले गाउँपालिकाले केही दिन अघिमात्रै निर्माण कम्पनी छनोट गरेको छ ।

२०७७ साल जेठ ७ गते सरकारले चुच्चे नक्शा जारी गर्दा स्थानीयवासी निकै खुशी थिए । ‘भूगोल नआए पनि नक्शामा हाम्रो भन्ने अधिकार पाएको महसूस गर्‍याैँ’, स्थानीयवासी जसमल बुढाथोकीले सुनाउनुभयो, ‘अब चाँडै आफ्नै देश भएर आवतजावत गर्ने वातावरण बनोस् ।’ यहाँका बासिन्दा वर्षको आधा समय खलङ्गामा र बाँकी समय तिङ्करमा बस्ने गर्छन् । उनीहरूको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ । कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइँसराइ हो । समुद्र सतहदेखि ३ हजार ३०० मिटर उचाइमा रहेकाे यस गाउँमा हिउँदको समयमा ६ फिटभन्दा बढी हिउँपर्ने हुँदा बस्न नसकिने तिङ्करी भन्नुहुन्छ । चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलङ्गातिर सर्छन् ।

चिसो मौसम भएका कारण ६ महिना गाउँ सुनसान हुन्छ । घरका ढोकामा चाबी लगाइएको हुन्छ । तिङ्करीले थप्नुभयो, ‘अहिलेसम्म गाउँमा चोरी भएको घटना छैन ।’ यहाँका बासिन्दाको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडीबुटी सङ्कलन हो । यहाँ फापर, उवा, काकनु, आलु, गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ । उनीहरू गाई, चौँरी, खच्चड, घोडा, बाख्रा पाल्छन् । अहिले गाउँ पुगेपछि स्थानीयवासी आलु, फापर, गहुँ छर्ने तयारीमा छन् ।

यहाँ स्वास्थ्य चौकी नहुँदा वर्षको झन्डै ६ महिना पनि उनीहरूलाई सामान्य रोग लाग्दा भारतमा पुग्नुपर्ने बाध्यता छ । धेरैले सिटामोल, दमलगायतका औषधि खलङ्गाबाटै आफूसँगै बोकेर लैजाने गर्छन् । व्यास–१ को छाङ्गरुमा स्वास्थ्य चौकी छ । तर तिङ्कर गाउँबाट छाङ्गरु आउजाउ गर्न ५ घण्टा बढी समय लाग्छ । गाउँमा युवा नहुँदा कोही बिरामी परेमा बोक्ने मानिस पाउन पनि मुश्किल पर्छ । ‘पहिले त कोही बिरामी हुँदा पनि ४/५ दिनपछि खबर पाउने अवस्था थियो’, बुढाथोकीले भन्नुभयो, ‘गएकाे वर्षदेखि ल्यान्डलाइन र नेपाल टेलिकमको टूजी फोन सञ्चालन भएपछि केही सहज भएको छ ।’

यहाँको मौसम निकै चिसो हुने भएकाले चिसोका कारण बिरामी पर्ने जोखिम उच्च छ । वडा सचिव विनोदसिंह बुढाथोकीका अनुसार तिङ्करमा ३/४ वर्षअघि निर्माण थालिएको स्वास्थ्य भवन अझै पूरा हुन सकेको छैन । ‘समयमै बजेट नआउँदा स्वास्थ्य संस्था सञ्चालनमा आउन सकेको छैन’, उहाँले भन्नुभयाे ।

चीनसँगको व्यापार खुला हुँदा तिब्बतसँग किनमेल गर्थे । पछिल्लो समय भने चीनबाट खाद्यान्न आउन रोकिएको छ । नेपालमा मात्रै बसोबास गर्ने व्यासी सौका समुदायको मात्रै यहाँ बसोबास हुन्छ ।

परम्परागत घरहरूले सुन्दरता दिएको छ । तिङ्कर प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ । फुलेका मनमोहक फूल, घर नजिकै देखिने नाउर जस्ता वन्यजन्तु, अपि हिमाललगायतका हिम शृङ्खला, सुदूर हिमाली जीवनशैलीले यहाँलाई विशेष बनाउँछ । सौका समुदायले आफ्नै भाषा ‘रङ’ बोल्छन् ।

तिङ्करमा प्रहरीको बसाइँ पनि ६ महिनामात्रै

दार्चुलाको तिङ्कर क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीको बसाइँ पनि धेरैमा ६ महिनासम्म मात्र हुने गरेको छ । चिसो मौसमका कारण सुरक्षाकर्मीहरू स्थानीय जस्तै बसाइँ सर्नुपर्ने अवस्था आइपरेको हो ।

स्थानीयवासी कुञ्चा गाउँ पुग्ने बेला सशस्त्र प्रहरी तिङ्कर उक्लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति लिलीबहादुर चन्दले बताउनुभयो । अहिले सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाबाट प्रहरीको टोली तिङ्करमा खटिएको छ । उनीहरू भारतीय बाटो हुँदै तिङ्करको छायालेक बीओपी पुगेका हुन् ।

२ वर्षदेखि तिङ्करको छायालेकमा सशस्त्र प्रहरी बस्न थालेको हो । व्यासकै छाङ्गरुमा गुल्म रहेको छ । चुच्चे नक्शा जारी भएसँगै यहाँ सुरक्षाकर्मी राखिएको हो । छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी वर्षभरि नै बस्ने गर्छन् । नेपाल प्रहरी पनि केही दिनअघि मात्रै तिङ्कर पुगिसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्र रावतले बताउनुभयो ।

अन्तिम अध्यावधिक: १८ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस