बेलौरी, कञ्चनपुर —
आसन्न मनसुनको पूर्वसन्ध्यामा बेलौरी नगरपालिकाले सुरक्षा निकाय प्रमुखहरू संग विपद् पूर्वतयारी बैठक सम्पन्न गरेको छ।
बैठकको अध्यक्षता नगरप्रमुख एवं विपद् व्यवस्थापन समितिका संयोजक पोतीलाल चौधरीले गर्नुभएको हो।
कार्यक्रमको सञ्चालन विपद् व्यवस्थापन फोकल पर्सन अशोक पाण्डेले गर्नुभएको थियो। बैठकमा इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्द, नेपाल सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बेलौरीका प्रहरी नायब उपरीक्षक मोहन के.सी लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा बोल्दै नगरप्रमुख पोतीलाल चौधरीले भन्नुभयो, “प्राकृतिक विपद् पूर्वसूचना दिँदैन, त्यसैले पूर्वतयारी नै सुरक्षित नगर निर्माणको आधार हो। विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्व तयारी, समन्वय र सचेतना अभिवृद्धिमा नगरपालिका प्रतिवद्ध छ। सबै निकायले आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेछ।”
त्यसैगरी, नगर उपप्रमुख जोगराम चौधरीले भन्नुभयो, “हामीले विपद् पूर्वतयारीलाई प्राथमिकताको रूपमा लिनुपर्छ। स्थानीय तहको नेतृत्वमा समुदाय र सुरक्षा निकायसँगको सहकार्यबाट मात्र प्रभावकारी प्रतिकार्य सम्भव हुन्छ। विपद् व्यवस्थापनमा समन्वय, तत्परता र सुसूचित क्रियाकलाप आवश्यक छन्।”
विपद् व्यवस्थापन फोकल पर्सन अशोक पाण्डेले बैठकको सन्दर्भ र उद्देश्यबारे प्रस्ट पार्दै भन्नुभयो, “मनसुनको समयमा नगरपालिकाभित्र डुबान, बाढी, र सडक कटानका समस्या बारम्बार देखिने गरेका छन्। यस्ता जोखिमको न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि नगरले कार्ययोजना निर्माणको प्रक्रिया अगाडि बढाएको छ।”
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुले विपद् व्यवस्थापनमा कार्यालयहरूको भूमिकालाई अझ स्पष्ट गर्दै स्रोत र साधनको सुनिश्चितता गर्न माग गरेका छन् । उनीहरूले सूचना प्रवाह प्रणाली तथा नमुना अभ्यास कार्यक्रममा समेत जोड दिएका छन्।
बैठकले जोखिम क्षेत्रमा आवश्यक पूर्वसावधानी अपनाउने, उद्धार तथा राहत टोलीलाई सक्रिय राख्ने, सूचनाको आदानप्रदानमा एकद्वार प्रणाली विकास गर्ने, र समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
भने, छलफलबाट उद्वार सामग्रीकाे सुनिश्चितता, सराेकारवालाहरुकाे सक्रिय सहभागीता, विपद् पूर्व तयारी र अभ्यास कार्यलाई अगाडि बढाइने जनाएको छ।