ट्रेण्डिङ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को सुदूरपश्चिम प्रदेशस्तरीय भावसम्प्रेषण तथा दोस्रो भेला सम्पन्न

होमपेज / समाचार /
डा. बाबुराम भट्टराईले भने – “अबको परिवर्तन वैकल्पिक शक्तिबाट मात्र सम्भव छ”
  • रेडियो सुदूर सञ्चार
  • २० जेठ २०८२ (३ महिना अघि)
  • ५२५

लालबहादुर एस.के/ बेलाैरी, कञ्चनपुर — 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) सुदूरपश्चिम प्रदेशले“सुदूरपश्चिम प्रदेशको भावसम्प्रेषण तथा दोस्रो भेला कार्यक्रम–२०८२” भव्यताका साथ सम्पन्न गरेको छ। 

मंगलबार बेलौरी नगरपालिका वडा नं. ६ स्थित प्रेम हाेटल एण्ड पाटी प्यालेसमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको नयाँ शक्ति पार्टी कञ्चनपुर जिल्ला इञ्चार्ज देपेन्द्र शाहीले बताए।

शाहीले भेलामा सुदूरपश्चिम प्रदेशभरिका सयौं पार्टी प्रतिनिधि, नेता कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको समेत बताए ।

"समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवाद" भन्ने मूल नाराका साथ आयोजित नयाँ शक्तिको कार्यक्रमले सुदूरपश्चिम प्रदेशमा पार्टी संगठन सुदृढ पार्ने, जनसंपर्क विस्तार गर्ने तथा भावनात्मक एकता निर्माण गर्ने उद्देश्य राखेको नयाँ शक्ति पार्टीका नेता अमर सिंह विष्टले जानकारी दिए।

कार्यक्रमको उद्घाटन गर्दै डा. भट्टराईले समसामयिक राजनीतिक अवस्थाबारे गहन विश्लेषण गर्नुभएको थियो। उहाँले देशमा भएको राजनीतिक परिवर्तनहरू अझै संस्थागत हुन नसकेको उल्लेख गर्दै भन्नुभयो:“नेपालमा आजसम्म भएका परिवर्तनहरू सन्तोषजनक दरमा व्यवहारमा लागू हुन सकेका छैनन्। संघीयता, गणतन्त्र र समावेशिताको आन्दोलनले ढोका त खोले तर ती सबै जनताको जीवनमा परिवर्तन ल्याउन सक्ने हैसियतमा पुग्न सकेका छैनन्। अबको परिवर्तन वैकल्पिक शक्तिबाट मात्र सम्भव छ।”

डा. भट्टराईले पार्टीले उठाउने मुद्दाहरू जनमुखी र वैचारिक रूपमा स्पष्ट भएको बताउँदै समावेशी र न्यायपूर्ण विकासको पक्षमा दृढ अडान व्यक्त गर्नुभयो। उनले भने:“हामी पदको लागि होइन, नीति र मूल्यका लागि राजनीतिमा आएका हौं। समाजवाद, सुशासन, समावेशिता र संघीयताको सही कार्यान्वयनबाट मात्र देशले समृद्धि पाउन सक्छ। अबको अभियान मुलुकको आधारभूत पुनसंरचनाका लागि हुनेछ।”

सुदूरपश्चिम प्रदेशको विशेषताबारे चर्चा गर्दै डा. भट्टराईले यस क्षेत्रलाई विकासको अग्रपंक्तिमा ल्याउनको लागि आफू र आफ्नो पार्टी पूर्णतः प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उनले थपे:“सुदूरपश्चिम भूगोलको हिसाबले मात्रै होइन, सामाजिक, सांस्कृतिक, आर्थिक दृष्टिकोणले पनि अत्यन्त महत्वपूर्ण प्रदेश हो। तर यो प्रदेश अझै पनि संघीय शासनको लाभबाट पछि पारिएको छ। हामी यहीँबाट अभियान सुरु गरेर संघीयता र समावेशिता मको मर्म व्यवहारमा ल्याउनेछौं।”

कार्यक्रमको सभामञ्चमा प्रदेश नेतृत्व, स्थानीय नेताहरू तथा कार्यकर्ताहरुकाे बाक्लो उपस्थिति रहेको थियोे । रंगीचंगी फूल, व्यानर, र पार्टीको प्रतीक ‘आँखा’ ले सजिएको कार्यक्रमस्थल आकर्षक देखिन्थ्यो। उपस्थित सहभागीहरूले राष्ट्रिय राजनीतिमा नयाँ विकल्पप्रति उत्साह प्रकट गरेका थिए।

यस कार्यक्रमको आयोजना नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) सुदूरपश्चिम प्रदेशस्तरीय भेला आयोजक समितिले गरेको हो।

अन्तिम अध्यावधिक: २० जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस