नेपाल-भारत सीमा क्षेत्र गौरीफन्टा नाकालाई व्यवस्थित गर्न पहल गर्ने परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बताईन । बिहीबार अनुगमनका क्रममा गौरीफन्टा नाकालाई थप व्यवस्थित गर्न आफूले पहल गर्ने उनले बताएकी हुन् । गौरीफन्टा नाका भएर दैनिक हजारौ सुदूरपश्चिमेलीहरू भारत तथा नेपाल आउजाउ गर्ने गर्छन् ।
त्यही नाका व्यवस्थित नहुँदा यात्रुहरूले सास्ती खेप्नु परेको गुनासो सुन्दै परराष्ट्रमन्त्री राणाले धनगढी आफ्नो निर्वाचन क्षेत्र भएको र यहाँको सीमा क्षेत्र व्यवस्थित बनाउनका लागि के के गर्नुपर्छ यथाशीघ्र लेखेर पठाउन भन्सार प्रमुख अनन्तराज तिमिल्सिना, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएकी छन् ।
अनुगमनकै क्रममा परराष्ट्रमन्त्री राणाले गौरीफन्टा नाका क्षेत्रमा पुगेर प्रहरी बिट, बसपार्क, सडक र शौचालयलाई व्यवस्थित बनाउनका लागि लेखेर आफूलाई पठाउन निर्देशन दिँदै उनले भनिन्,‘‘यो सडक थोत्रो भयो, सीमा क्षेत्रमा हामीले राम्रो सडक बनाउनुपर्छ, जसले अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो छवि जान्छ ।
यसका लागि म पहल गर्छु ।’’ उनले भारतले प्रतिबद्धता गरे अनुसार सडक सुधार गरेको र नेपालतर्फको सडकको हालत उस्तै रहेकाले सुधार गर्नुपर्नेमा जोड दिईन । दुधुवा नेश्नल पार्कमा चौडा सडक बनाउन भारत सरकारको कानुनी अल्झनका कारण रोकिएको बताउँदै उनले भनिन् ,‘‘प्रतिबद्धता अनुसार कालोपत्रेको काम भने गरेका छन् ।’’