कञ्चनपुर : बाढीको त्रासले कुतियाकवरबासी बसाइँ सर्न थाले

होमपेज / समाचार /
कुतियाकवर हरेक वर्ष बाढीको चपेटामा पर्दै
  • रेडियो सुदूर सञ्चार
  • २४ जेठ २०८२ (७ घण्टा अघि)
  • १६०

कञ्चनपुर -

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका खड्के बुढा बाख्रा, गाईभैंसी र बालबच्चासहित जोगबुढा वारि सरेका छन्। बाढीको डरले उनीसँगै अन्य तीन परिवार पनि कुतियाकवरबाट बसाइँ सर्न थालेका हुन्।

तीनतिर जोगबुढा नदी र अर्को तर्फ महाकाली नदीले घेरिएको टापुमा रहेको कुतियाकवर हरेक वर्ष बाढीको चपेटामा पर्दै आएको छ। सरकारले जोगबुढा नदीमा तटबन्ध निर्माण सुरु गरेपछि बाढीबाट जोगिने आशा पलाएको थियो। तर, काम रोकिएपछि बाढीको त्रासले स्थानीयहरू सुरक्षित स्थान खोज्न थालेका छन्।

‘विसं २०७८ को बाढीले गाईभैंसी, बाख्रा सबै बगायो, घरमा रहेको अन्न पनि बचेन,’ विगत सम्झँदै खड्के बुढाले भने, ‘यस पटक मौसम विभागले पनि धेरै वर्षा हुन्छ भनेको छ। यहाँ धेरै बाढी आउँछ, बाख्रा भैंसी बचाउन पारिपट्टि सर्दैछु।’

उनका अनुसार तटबन्ध निर्माण सुरु भएपछि केही आशा पलाएको थियो। तर, पानी बढेपछि काम रोकिएकाले बस्तीमा त्रास फैलिएको छ। ‘यहाँ बाढीले हरेक वर्ष कटान गर्दै आएको छ, महाकालीको बाढी बस्ती पस्दा ज्यान जोगाउन मुस्किल हुन्छ,’ बुढाले भने, ‘गत वर्ष नेपाली सेना र दातृ निकायको सहयोगमा दुई वटा सेफ हाउस बनेपछि राहत मिलेको छ।’

बाढीको त्रासका कारण थप तीन परिवार पनि जोगबुढा पारि बसाइँ सरेका छन्। केही वर्षअघि बाक्लो बस्ती रहेको कुतियाकवर अहिले बाढीकै कारण पातलिँदै गएको छ।

स्थानीय टेकबहादुर सुनारका अनुसार कुतियाकवर हरेक वर्ष बाढीको मारमा पर्दै आएको छ। ‘नदीमा तटबन्ध बन्न थालेपछि यस वर्ष सुरक्षित भइएलाकी भन्ने लागेको थियो, तर काम अधुरै छ,’ उनले भने, ‘बर्खा सुरु हुन लागेपछि यहाँका चार परिवार सुरक्षित स्थान खोज्दै बसाइँ सर्न थालेका छन्।’

सुनारका अनुसार जोगबुढा र महाकाली दुवै नदीले कटान गर्ने भएकाले यहाँको बस्ती उच्च जोखिममा छ। केही वर्षअघि ४९ परिवार बसोबास गर्ने कुतियाकवरमा हाल ३९ परिवार मात्रै छन्। बाँकीले भारत वा अन्यत्र सुरक्षित स्थान रोजेका छन्।

पूर्वमा महाकाली, उत्तरमा जोगबुढा र दक्षिणमा भारतसँग जोडिएको कुतियाकवरमा विसं २०७४ मा झोलुङ्गे पुल बनेपछि नगरसँग आवतजावत सहज भएको थियो। करिब ५० बिघा क्षेत्रफलमा फैलिएको बस्ती बाढीको कटानले हरेक वर्ष साघुँरिँदै गएको छ।

बाढी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण सुरु गरेको थियो। तर, ढिलो ठेक्का सम्झौता र नदीमा पानीको बहाव बढेकाले निर्माण रोकिएको जनाइएको छ।

‘बजेटको सुनिश्चितताका कारण ढिलो गरि ठेक्का सम्झौता भयो,’ तटबन्ध कार्यालयका इन्जिनियर करुणाकर पन्तले भने, ‘अहिले जोगबुढा नदीमा पानी बढेकाले निर्माण व्यवसायीले काम गर्न सकेका छैनन्।’

उनका अनुसार बस्तीलाई सुरक्षित राख्ने लक्ष्यअनुसार काम भए पनि नदीमा पानी बढेकाले तटबन्ध निर्माण सम्पन्न गर्न नसकिएको हो। हालसम्म २५ प्रतिशत काम सम्पन्न भएको छ।

तटबन्ध निर्माणका लागि २०८१ चैत २५ गते रु पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो। सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध २०८२ चैतभित्र सम्पन्न गरिसक्नुपर्नेछ।

अन्तिम अध्यावधिक: २४ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस