बेलौरी, कञ्चनपुर ।
बेलौरी–कलुवापुर सडकखण्डअन्तर्गत ढक्का क्षेत्रको करिब पाँच किलोमिटर सडकखण्ड वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) नहुँदा वर्षौंदेखि अलपत्र परेकाे छ। यसले गर्दा दैनिक हजारौं स्थानीय सडक प्रयोगकर्ताहरूले सास्ती खेप्नुपरेको छ।
सडक सुदूरपश्चिम प्रदेश गौरवको योजना भए पनि आरक्ष क्षेत्रभित्र पर्ने भन्दै शुक्लाफाँटा वन्यजन्तु आरक्षले बिना ईआईए कुनै किसिमको निर्माण स्वीकृति नदिने अडान लिएको छ।
सडक निर्माण प्रक्रिया अघि बढाउन आवश्यक पर्ने ईआईएको बजेट प्रदेश सरकारबाट अहिलेसम्म विनियोजन हुन नसक्दा योजना बारम्बार बजेटमा परे पनि खर्च हुन नसकेको हो।
२०७३ सालमा केन्द्र सरकारले ठेक्का गरी काम थालेको यो सडक पछि प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि फरफारक भई छुट्टै प्रक्रिया सुरु गर्नुपर्ने अवस्था आएको थियो।
भेटघाट: मन्त्री र सचिवसँग प्रत्यक्ष आग्रह
सडक निर्माणमा देखिएको यस समस्यालाई लिएर आइतबार नेकपा एमाले कञ्चनपुरका युवा नेता पल्लव राज भट्टले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल र मन्त्रालयका सचिव प्रेमदत्त भट्टसँग भेट गरी औपचारिक छलफल गरेका छन्।
भेटका क्रममा नेता भट्टले ढक्का क्षेत्रको पाँच किलोमिटर सडकखण्डको ईआईए कार्य सम्पन्न गर्नका लागि आगामी आर्थिक वर्षको बजेटमा छुट्टै बजेटको व्यवस्था गर्न आग्रह गरे। नेता भट्टले उक्त सडकमा हरेक वर्ष बजेट विनियोजन हुँदै आए पनि वातावरणीय प्रक्रिया पूरा नभएका कारण जनताको पीडा दिन प्रतिदिन बढ्दै गएको बताए।
"यो बाटो प्रदेश गौरवको योजना हो। आरक्षको अडान र वातावरणीय कानुनी बाध्यताले जनतालाई सास्ती दिइरहेको छ। बजेटको सही प्रयोगका लागि अब ईआईएको लागि रकम छुट्याइनुपर्छ," नेता भट्टले मन्त्री र सचिव समक्ष भनेका थिए।
उक्त भेटमा मन्त्री पाल र सचिव भट्ट दुवैले सकारात्मक प्रतिक्रिया जनाउँदै ईआईएका लागि बजेट व्यवस्थापन गर्न सरकार गम्भीर रहेको आश्वासन दिएका छन्। आगामी नीति तथा कार्यक्रममार्फत प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनीहरूले बताएका छन्।
सडकको चौडाइमा मतभेद, दीर्घकालीन सोचको माग
सडक आरक्ष क्षेत्रभित्र पर्ने भएकाले आरक्षले ४/५ मिटर चौडाइसम्म मात्र ईआईए गर्न सकिने संकेत दिएको छ। तर स्थानीय तह, जनप्रतिनिधि र प्राविधिकले यो सडक अन्यत्रजस्तै कम्तीमा १२ मिटर चौडा हुनुपर्ने अडान राख्दै आएका छन्।
“यो प्रदेश गौरवको योजना हो। ट्राफिक, बाढी र दीर्घकालीन दिगोपनालाई हेर्दा १२ मिटर फराकिलो सडक आवश्यक छ। पछि फेरि पटक–पटक ईआईए गर्नु समय र स्रोतको अपव्यय हो,” भट्टले बताएका छन्।
स्थानीय दबाब र चेतावनी
सडक छेउका बस्ती, यात्री तथा व्यवसायीहरू वर्षौंदेखि सास्ती खेप्न बाध्य छन्। ढक्काक्षेत्र वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे बन्ने गरेको छ। सडकको यो अवस्था देखेर जनस्तरमा असन्तुष्टि बढ्दो छ।
नेता भट्टले प्रदेश सरकारलाई चेतावनी दिँदै भने, “यदि यसपालिको बजेटमा ईआईएको लागि रकम विनियोजन गरिएन भने, जनस्तरबाट आन्दोलन हुने निश्चित छ। सडक बनाउने आशामा जनता धोका खाँदै आएका छन्।”
बेलौरी–कलुवापुर–नाइल–बुडर सडकलाई दीर्घकालीन र सुरक्षित यातायात सञ्जालको मेरुदण्ड बनाउने योजना हो भने अहिले देखिएको ईआईएको अवरोध तत्काल हटाइनुपर्छ। आइतबारको भेटवार्ता र राजनीतिक पहलबाट यसपटक बजेटमा सकारात्मक प्रगति हुने आशा गरिएको छ एमाले नेता भट्टले रेडियो सुदूर सञ्चार संगकाे टेलिफोन कुराकानीमा भने।, “यदि प्रदेश सरकारले आवश्यक बजेट सुनिश्चित गरी वातावरणीय प्रक्रिया पूरा गर्न सके - मात्र ढक्का क्षेत्रको पाँच किलोमिटर खण्डमा कालोपत्रे कार्य अघि बढ्नेछ।,
त्यसैले यो समस्या समाधान गर्न अब ढिला गर्नु भनेको विकासको बाटोमा जनता अझै पछि धकेल्नु हो। प्रदेश सरकारको स्पष्ट निर्णय र तत्परता नै बेलाैरी-कलुवापुर सडक खण्डको मूल चाबी बनेको छ।”