निरु चाैधरी / बेलाैरी, कञ्चनपुर -
बेलौरी नगरपालिका - १ मा अवस्थित ऐतिहासिक, सांस्कृतिक तथा पर्यावरणीय महत्व बाेकेको बन्दातालकाे संरक्षण र विकास औपचारिक रुपमा प्रारम्भ गरिएको छ।
मंगलबार बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरीले बन्दाताल निर्माण परियाेजनाकाे शिलान्यास गर्दै ताल विकासको औपचारिक सुरुवात गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले यस आयोजनालाई नगरको गाैरबकाे याेजना र भावी पुस्ताप्रतिको उत्तरदायित्वका रूपमा प्रस्तुत गर्दै भन्नुभयो, “हामीले विकासको नाममा प्रकृतिलाई बिर्सन सक्दैनौं। प्रकृति हाम्रो अस्तित्वसँग गाँसिएको विषय हो। बन्दाताल संरक्षण योजना केवल संरचना होइन, भावी पुस्ताका लागि हामीले गर्ने लगानी हो।”यसलाई नगरकै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न हामीले पाइला चालेका छाै।, ताल क्षेत्रमा संरचना विस्तारसँगै जैविक विविधता संरक्षण, जल स्रोत व्यवस्थापन, हरियाली विस्तार तथा आन्तरिक पर्यटन प्रवर्द्धनलाई नगरले उच्च प्राथमिकता दिएको छ। नगर प्रमुख चाैधरीले थपे“ ढुक्क हुनुहाेस् अब बन्दाताल बन्दैछ।”
‘बन्दाताल संरक्षण आयोजना, बेलौरी, कञ्चनपुर’ शीर्षकमा अगाडि बढाइएको यो योजना नगरको दीर्घकालीन दृष्टिकोण, पर्यावरणीय उत्तरदायित्व, सामुदायिक सहभागिता र आन्तरिक पर्यटन प्रवर्द्धनलाई समेट्ने बहुआयामिक परियोजनाका रूपमा प्रस्तुत भएको छ।
बेलाैरी नगरपालिकाको समन्वयमा अघि बढाइएको उक्त आयोजना ठेक्का नम्बर BELMUN/NCB/L/081/82-05 अन्तर्गत ०८२ जेष्ठ ९ मा सम्झौता भई ०८३ सालको असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण प्रारम्भ भएको बेलाैरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीकाे भनाइ छ।
कूल ५ करोड ४३ लाख ११ हजार २ सय २२ रुपैयाँ रहेको उक्त आयोजना DNS-BRC जेभी पुनर्वास २ निर्माण कम्पनीले निर्माण गरिरहेकाे छ। कम्पनीका ठेकेदार दाउत तामाङ अधिकृत प्रतिनिधिका रूपमा रहेका छन्।
नगरका इञ्जिनियर जगदीश जोशीले ताल क्षेत्रको संवेदनशीलता र जैविक विशेषता विचार गरेर योजना निर्माण गरिएको जानकारी बताए। उनलेे“ यसभित्र रहेका प्रजातिहरू, वनस्पति, जलचर र जीवमण्डलमा असर नपर्नेगरी वातावरणमैत्री प्रविधिको प्रयोग हुने जानकारी दिए। जाेशीले दिर्घकालिन योजना अन्तर्गत पक्की पर्खाल, पदमार्ग, हरित गेट, सूचना केन्द्र, बोटिङ क्षेत्र, बगैँचा, पिकनिक क्षेत्र, तटीय हरियाली विस्तार तथा फेन्सिङ आदि जस्ता संरचना निर्माण गरिने जनाए ।
निर्माण कम्पनीका प्रतिनिधि तथा ठेकेदार दाउत तामाङले योजना कार्यान्वयनलाई व्यवसायभन्दा पनि आफ्नै क्षेत्रकाे जिम्मेवारीको रूपमा लिएको बताउँदै भने, “बन्दातालको संरक्षण कार्य मेरा लागि केवल सिमेन्ट, बालुवा र इँटा राख्ने काम होइन। यो मेरो आत्मासँग जोडिएको जिम्मेवारी हो। यो माटोसँग मेरो पुरानो साइनो छ। माया, संवेदना र भविष्यप्रतिको उत्तरदायित्वका साथ काम गरिरहेको छु। यहाँको जनविश्वास, वातावरणीय विरासत र भावी पुस्ताको आशालाई धोका नदिने गरी काम सम्पन्न गर्ने मेरो अठोट छ।”
स्थानीय दिनेश कुँवरले विगतमा ताल क्षेत्र उपेक्षित, फोहोर र अतिक्रमणमा परिरहेको सम्झिँदै भने, “हामीले पहिले ताल मासिएको, लथालिंग र उपेक्षित देखेका थियौं। आज तालको नयाँ युग सुरु भएको छ। यो केवल संरचना होइन, यो हाम्रो गौरवको पुनर्जन्म हो।” उनले योजना पारदर्शी, गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने कामना व्यक्त गर्दै यसले आन्तरिक पर्यटन, वातावरणीय अध्ययन, स्थानीय रोजगार तथा नगरको समग्र छवि निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
सामुदायिक सहभागिता, वातावरणीय सचेतना र नगरको दीर्घकालीन सोचको संगमका रूपमा अघि बढाइएको यो योजना केवल ताल संरक्षणमा सीमित नरही, नगरको समग्र पर्यावरणीय अनुशासन, सामाजिक चेतना र आर्थिक सम्भावनालाई उजागर गर्ने माध्यम बन्ने अपेक्षा गरिएको छ।
यसबाट अध्ययन अवलोकन स्थल, आन्तरिक पर्यटक आकर्षण, साना व्यवसाय प्रवर्द्धन, स्थानीय उत्पादनको बजारिकरण तथा युवा स्वरोजगारमा प्रत्यक्ष असर पर्ने देखिन्छ। यसरी नगर प्रमुखको भनाइ, इञ्जिनियरको प्राविधिक दृष्टिकोण, निर्माण कम्पनीको प्रतिवद्धता र स्थानीयवासीको आशाले यो परियोजना केवल एउटा ठेक्काको काम नभई नगरवासीको सामूहिक सपना पूराहुने विश्वास गरिएको छ ।