निरु चाैधरी / बेलौरी, कञ्चनपुर –
सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको गौरव योजना बेलौरी–कलुवापुर–नाइल–बुडर सडक वर्षौंदेखि अलपत्र पर्दै आएको छ। ढक्का क्षेत्रको करिब ५ किलोमिटर खण्ड अझैसम्म पनि ईआईए (Environment Impact Assessment) प्रक्रिया अधूरो भएको कारण बजेट खर्च हुन नसकेको बताइएको थियो।
तर अब यस योजनामा सकारात्मक मोड आएको छ। बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाह र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल समक्ष ईआईए रिपोर्ट औपचारिक रूपमा पेस गरेका छन्।
वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) रिपोर्ट बुझाउने कार्यक्रममा बेलाैरी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन ढकालको समेत सक्रिय सहभागिता रहेको थियो।
EIA रिपोर्ट २०८० असार ६ गते नै तयार भइसकेको
नगरप्रमुख चौधरीका अनुसार, उक्त ईआईए प्रतिवेदन २०८० साल असार ६ गते नै तयार भइसकेको थियो र सोही समयमा सम्बन्धित संघीय निकाय समक्ष बाेधार्थ पेस पनि गरिएको थियो।
उनले भने, “ईआईए प्रतिवेदन झण्डै दुई वर्षअघि नै तयार पारिएको हो। तर बजेट र विभिन्न राजनीतिक इच्छाशक्तिको कारणले यो कार्यान्वयनमा ढिलाइ भइरहेको छ।”
पूर्वमन्त्री बीना मगरको महत्त्वपूर्ण भूमिका
नगरप्रमुख चौधरीले सो EIA रिपोर्ट तयार पार्नमा पूर्व खानेपानी मन्त्री तथा माओवादी नेतृ बीना मगरको महत्त्वपूर्ण सहयोग र पहल रहेको जनाए।
उनका अनुसार, “सडक आरक्षभित्र पर्ने भएकाले संघीय तहमा वातावरण मन्त्रालय, वन मन्त्रालय र अन्य निकायसँग सहकार्य आवश्यक थियो। यसमा पूर्वमन्त्री बीना मगरले संघीय सरकारसँग समन्वय गरी प्रतिवेदन तयार गर्न ठुलो सहयोग गर्नुभएको हाे।”
नगरप्रमुख चौधरीले थपे, “ यदि बीना मगरज्यूले त्यो बेला संघीय स्तरमा पहल नगर्नुभएको भए यो प्रतिवेदन अझै पनि तयार हुने अवस्था थिएन। उहाँप्रति म व्यक्तिगत र संस्थागत धन्यवाद दिन चाहन्छु।”
मुख्यमन्त्रीको सकारात्मक प्रतिक्रिया
मुख्यमन्त्री कमल शाहले प्रतिवेदन बुझ्दै यो गौरव योजना अब कार्यान्वयनको मोडमा प्रवेश गर्ने विश्वास व्यक्त गरे।
उनले प्रतिनिधिमण्डललाई आश्वस्त पार्दै भने,
“हामी यो सडक निर्माणका लागि आवश्यक नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिनेछौं। वातावरणीय प्रक्रिया पूरा भएको हो भने अब ढिलाइ हुनु हुँदैन।”
स्थानीय जनता र नेताको चेतावनी
एमाले नेता पल्लब राज भट्टले सडक चौडाइको विषयमा सरकारले स्पष्ट नीति तय गर्नुपर्ने माग गरेका छन्। उनका अनुसार, “आरक्षको कारण देखाउँदै ४ मिटर चौडाइ सीमित गर्ने भनिए पनि यो दीर्घकालीन दृष्टिकोण होइन उनलेे भने - १२ मिटर फराकिलो सडक आवश्यक छ, र त्यसकै आधारमा योजना अघि बढ्नुपर्छ।”
स्थानीय, यात्री र व्यवसायीहरूले पटक–पटक सडकको दयनीय अवस्थाबारे आवाज उठाउँदै आएका छन्।
माओवादी नेता अमर सिंह चाैधरीले भनेका छन्, “यदि अब पनि प्रदेश सरकारले बजेटमा उक्त सडकका लागि आवश्यक रकम विनियोजन गरि काम सुचारु गरेन भने, हामी सडकका पक्षमा जनस्तरबाट आन्दोलन गर्न बाध्य हुनेछौं।”
अब निर्णय सरकारको हातमा
बेलाैरी-कलुवापुर सडकको ईआईए प्रतिवेदन तयार भई हस्तान्तरण भइसकेको अवस्थामा अब प्रदेश सरकारले ढिलाइ नगरी कार्यान्वयनको पक्षमा ठोस निर्णय लिनुपर्ने देखिएको छ।
यदि नीति, कार्यक्रम र बजेटमार्फत यो योजना अघि बढाइयो भने ढक्का क्षेत्रको पाँच किलोमिटर सडकमा कालोपत्रे काम शुरु हुने जनअपेक्षा छ।
नगरप्रमुख चौधरीले निष्कर्षमा भने,
“अब जालझेल ढिलासुस्ती स्वीकार्य छैन। जनताको अपेक्षा, प्राविधिक तयारी र प्रतिवेदन सबै सकिएको अवस्थामा प्रदेश सरकारको स्पष्ट निर्णय र तत्परता नै विकासको मूल मन्त्र हाे।”