कैलालीको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा खाजा, खाना र विविध शीर्षकमा ४७ लाख ५६ हजार ३ सय २४ रुपैयाँ खर्च गरेको छ। महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो।
प्रतिवेदनमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उल्लंघन गर्दै पालिकाले आफ्नै आम्दानीको सीमाभित्र नपर्ने गरी खर्च गरेको औंल्याइएको छ। ऐन अनुसार खर्च बजेट अनुमान तथा आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा गर्नुपर्ने प्रावधान छ।
महालेखाको प्रतिवेदन अनुसार, नगरपालिकाले ०८०/८१ मा विविध खर्चतर्फ खाजा, खाना आदि रु. ४४ लाख १८ हजार ६९८ र नगरसभा सञ्चालन खर्चतर्फ रु. ३ लाख ३७ हजार ६२६ रुपैयाँ खर्च गरेको हो। यसरी पालिकाको जम्मा खर्च रु. ४७ लाख ५६ हजार ३२४ पुगेको छ।
यो रकम पालिकाको आन्तरिक आय रु. २१ करोड ९७ लाख ७८ हजार ९३ रुपैयाँ ३७ पैसा को २.१६ प्रतिशत हो। प्रतिवेदनमा यस्ता खर्च नियन्त्रण गर्न सुझाव दिइएको छ।