बेलौरी पूर्ण खोप सुनिश्चितता नगरपालिका घाेषणा

होमपेज / समाचार /
“पूर्ण खोप, सुरक्षित भविष्य”
  • निरु चौधरी
  • ४ असार २०८२ (२० घण्टा अघि)
  • १५५

निरु चाैधरी / बेलौरी, कञ्चनपुर —

बेलौरी नगरपालिकाले आफ्नो सम्पूर्ण वडाका १६ महिना देखि ५८ महिना उमेर समूहका बालबालिकालाई पूर्ण खोप उपलब्ध गराई पूर्ण खोप सुनिश्चितता नगरपालिकाको मान्यता पाएको छ। मंगलबार नगरपालिकाको सभाहलमा आयोजित विशेष सभामार्फत यो महत्वपूर्ण घोषणा गरिएको हो।

"पूर्ण खोप, सुरक्षित भविष्य" भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहराले बेलौरीलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरे।

विशेष समारोहमा जिल्ला समन्वय समिति उपप्रमुख रामकुमारी राना, बेलौरी नगरप्रमुख पोतीलाल चौधरी, पत्रकार महासंघ जिल्ला अध्यक्ष सुरेश धामी, बेलाैरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत झपीराज ओझाको समेत सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा नगरपालिकाको स्वास्थ्य शाखाले प्रस्तुत गरेको तथ्यांकअनुसार वडा नं. १ देखि १० सम्मका २१५७ जना बालबालिकाले २०८२ साल वैशाख महिनासम्म सबै आवश्यक खोपहरू प्राप्त गरिसकेका छन्। यस उपलब्धिले बेलौरीलाई स्वास्थ्य सुरक्षाका दृष्टिकोणले एक अनुकरणीय नगरपालिका बनाएको भन्दै सरोकारवालाहरूले प्रशंसा व्यक्त गरे।

कार्यक्रममा पूर्ण खोप अभियानका सम्पर्क व्यक्ति जनकबहादुर कुँवर, दिनेश प्रसाद भट्ट, जयसिंह बोहरा लगायतका स्वास्थ्यकर्मीहरुको सक्रिय भूमिका रहेको थियो। 

त्यस्तै, स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, शिक्षक, महिला अगुवा, सञ्चारकर्मी तथा समुदायका विभिन्न तहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बाेल्दै बेलाैरी नगरप्रमुख पोतीलाल चौधरीले भने, “यो उपलब्धि कुनै व्यक्तिको नभई बेलौरीवासी सबैको सामूहिक प्रयासको परिणाम हो। पूर्ण खोप सुनिश्चितता दिगो बनाउन हामी अझ सजग र प्रतिबद्ध भएर लाग्नेछौं।”

त्यस्तै, प्रमुख अतिथि बोहराले भने, “खोप जीवनरक्षक हो, यसमा बेलौरी नगरको सक्रियता अत्यन्तै सराहनीय छ। अरू पालिकाले पनि बेलौरीबाट प्रेरणा लिनुपर्छ।”

पूर्ण खोप सुनिश्चितता घोषणाले बाल स्वास्थ्य, जनस्वास्थ्य सुरक्षा र दिगो विकासतर्फ बेलौरीले चालेको कदमलाई सुदूरपश्चिम प्रदेशमै नमूना बनाएको सरोकारवालाहरूको भनाइ थियो। 

साथै, कार्यक्रमले समुदायभित्र खोपको प्रभावकारिता र महत्त्वबारे थप चेतना फैलाएको सहभागीहरूको अनुभव छ।

अन्तिम अध्यावधिक: ४ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस