दिनेश चाैधरी / बेलौरी, कञ्चनपुर —
‘भावी सन्ततिका लागि हरियाली, समृद्धिको लागि वृक्षारोपण’ भन्ने मूल नाराका साथ बेलौरी नगरपालिका वडा नं. ७ मा तीनदिने वृक्षारोपण अभियान सुरु भएको छ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र जलवायु सन्तुलनमा समुदायको भूमिकालाई उजागर गर्ने उद्देश्यसहित शुक्रबारदेखि तीनदिने वृक्षारोपण अभियान सुरु गरिएको वडाध्यक्ष प्रकाश श्रेष्ठले बताए ।
रेडियो सुदूर सञ्चार संगकाे कुराकानीमा अध्यक्ष श्रेष्ठले वडा कार्यालय, युवा सञ्जाल, कुण्डा सब डिभिजन वनकार्यालय पचगडिया र स्थानीयहरुकाे सहकार्यमा अभियान प्रारम्भ गरिएको जनाए।,
वृक्षारोपण अभियानअन्तर्गत विद्यालय परिसर, सार्वजनिक क्षेत्र, सडक किनारा, खुला क्षेत्र, सामुदायिक वन क्षेत्र लगायतका विभिन्न स्थानहरूमा विभिन्न फलफूल तथा छायाँ दिने प्रजातिका दुई हजारभन्दा बढी बिरुवा रोपिने छन्।
कार्यक्रमको पहिलो दिन सिंहपुरमा एक औपचारिक कार्यक्रमका साथ अभियानको उद्घाटन गरिएकाे हाे। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले आफ्नो मन्तव्यमा वातावरणीय असन्तुलन, बाढी, सुख्खा र जलवायु परिवर्तनको असरबारे गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो अभियानले दीर्घकालीन सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे। उनले भने,“वृक्षारोपण केवल आजको आवश्यकता होइन, यो भावी पुस्ताको लागि जीवनदायिनी उत्तराधिकार हो। हरेक वडामा यस्ता अभियान सञ्चालन गरेर हरित नगर बनाउनु हाम्रो साझा दायित्व हो।”
कार्यक्रमको नेतृत्व गरिरहेका वडा अध्यक्ष प्रकाश श्रेष्ठले अभियानको महत्व स्पष्ट पार्दै अभियानलाई वडाको दीर्घकालीन वातावरणीय रणनीतिको एक हिस्सा बनाइएको जानकारी दिए।
उनले भने, “हामीले यो अभियान केवल बिरुवा रोपेर सक्दैनौं, यसको संरक्षण, स्याहार र उत्तरदायित्वबोध अझ महत्वपूर्ण हुन्छ। हामीले दुई हजारभन्दा बढी बिरुवा रोप्ने लक्ष्य राखेका छौं, तर त्योभन्दा बढी हामीले समुदायमा हरियालीप्रति प्रेम र जिम्मेवारी रोप्ने कोशिस गरेका छौं।
त्यस अवसरमा सहभागी कुण्डा सब डिभिजन वन कार्यालयका अधिकृत दिनेश कुमार यादवले स्थानीय तह र युवाहरूको सक्रियता देखेर आफू उत्साहित भएको बताए। उनले“हामीले यो अभियानका लागि बिरुवा मात्रै हैन, वातावरणप्रतिको चेतना पनि ल्याएका छौं भने, जनस्तरबाट यस्ता पहलहरू भइरहँदा हामी वातावरणीय दिगोपनतर्फ उन्मुख भइरहेका हुन्छौं।”
कार्यक्रममा विभिन्न दलका नेताहरू, शिक्षक, समाजसेवी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएकाे थियोे ।
नेकपा एमालेका प्रभावशाली नेता पल्लव राज भट्टले जलवायु परिवर्तनको असरले विश्वभरि त्रास फैलिरहेको उल्लेख गर्दै स्थानीय स्तरबाट हुने यस्ता प्रयासहरूलाई राजनीतिभन्दा माथि राखेर समर्थन गर्नुपर्ने धारणा राखे।
अर्कोतर्फ नेतृ कमला बोहराले वृक्षारोपणमा महिलाको सहभागिता अपरिहार्य रहेको जनाउँदै महिलाहरूलाई पनि वातावरण संरक्षणको अभियन्ताका रूपमा अघि सार्नुपर्ने बताइन्।
नेपाली कांग्रेसका युवा जुझारु नेता हरेन्द्रसिंह विष्टले नगरका सबै वडामा वृक्षारोपणलाई संस्थागत गरी बार्षिक कार्यक्रम बनाउनुपर्ने आवश्यकता औंल्याए।उनलेभने,“युवाहरूको जोश, वडा कार्यालयको अग्रसरता र वन कार्यालयको सहकार्यले यहाँ सकारात्मक उदाहरण स्थापित भएको छ। यस्तो अभ्यास सिंगो नगरमा विस्तार हुनुपर्छ।”
वृक्षारोपण अभियानमा सहभागी शिक्षक सुरेन्द्रराज बोहराले वातावरण शिक्षालाई विद्यालय तहबाटै समेट्नुपर्नेमा जोड दिए। उनका अनुसार, “विद्यार्थीलाई सिकाइको एउटा भाग वन संरक्षण हुनुपर्छ। यो मात्र किताबी ज्ञान होइन, जीवन र भविष्यसँग गाँसिएको विषय हो।”याे नमूना कार्यका लागि वडाध्यक्ष ज्यूलाई धन्यवाद।,
युवा समाजसेवी रामलाल रानाले वृक्षारोपणलाई जीवनशैलीको रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै यस्तो अभियानले समाजमा सकारात्मक सोचको विस्तार गर्ने विश्वास व्यक्त गरे।“हामी हरेक वर्ष कति बिरुवा रोप्यौं भनेर होइन, कति जोगायौं भनेर हिसाब गर्नुपर्छ,” उनले भने।
यस तीनदिने अभियानमा वडाका विभिन्न सडक क्षेत्र तथा सार्वजनिक स्थलहरूमा सामूहिक वृक्षारोपण गरिने छ। अभियानमा विद्यार्थी, युवाहरू, स्थानीय अगुवा, शिक्षक, किसान, कर्मचारी, महिला समूह, आमा समूह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र पत्रकारहरूको सक्रिय उपस्थिति रहेको छ।
बिरुवाहरूलाई नियमित सिँचाइ, स्याहार र निगरानीको जिम्मेवारी स्थानीय टोल विकास समिति, युवा सञ्जाल र समाजसेवीहरूको संयुक्त संयोजनमा गरिने आयोजकले जनाएको छ।
वृक्षारोपण कार्यक्रमले समुदायमा वातावरणप्रतिको जागरूकता मात्र फैलाएको छैन, सामाजिक एकता, सहभागिता र भविष्यप्रतिको उत्तरदायित्वलाई पनि बलियो बनाएको छ।
हरियालीको यो सन्देश वडाभर मात्र सीमित नरही समग्र नगरपालिकाभर फैलियोस् भन्ने अभिलाषा आयोजकको रहेको छ।
भविष्यमा अझ व्यापक दायरामा वृक्षारोपण अभियान विस्तार गर्दै बेलौरीलाई हरित नगरको रूपमा विकास गर्ने परिकल्पना गरिएको छ।