चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर —
मनसुन सुरु भएसँगै देशभरि बाढी र पहिरोको जोखिम बढिरहेका बेला इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भास्कर चन्दले सामाजिक सञ्जालमार्फत एक भावनात्मक र सतर्कतापूर्ण सन्देश जारी गरेका छन्।
उनले शनिबार दिउँसो ३ बजेर ५५मिनेटमा आफ्नो फेसबुक पोस्टमार्फत नागरिकलाई सचेत रहन विशेष आग्रह गरेका हुन्।
प्रहरी निरीक्षक चन्दले अछामको कमलबजारमा २०७९ सालको मनसुनमा आएको कहाली लाग्दो पहिरोको स्मरण गर्दै लेखेका छन्, “त्यो क्षति पुर्याएको दिन आजसम्म पनि बिर्सन सकिएको छैन।” साथै उनले गत वर्ष राजधानीसहित देशभर फैलिएको बाढी र पहिरोको त्रासदी अझै जनमानसमा ताजा रहेको उल्लेख गरेका छन्।
चन्दले मौसम पूर्वानुमान महाशाखाले यस वर्ष विगतका वर्षभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिसकेको सन्दर्भ जोड्दै पहाडमा पहिरो र तराईमा डुबानको सम्भावना प्रति जनतालाई विशेष सचेत हुन आग्रह गरेका हुन्।
"क्षति भएको सुन्दा मन भक्कानिएर आउँछ... कतै पनि क्षति नहोस्। आफू र आफ्नो परिवारको विशेष ध्यान दिनु होला," चन्दले फेसबुकमा लेखेका छन्। साथै उनले सबैलाई मौसमसम्बन्धी जानकारी नियमितरूपमा अपडेट भइरहन र कुनै पनि प्रकारको हेलचक्र्याइँ नगर्न समेत अनुरोध गरेका छन्।
पोस्टको अन्त्यमा चन्दले लेखेका छन्, "निःस्वार्थ अन्तरहृदयबाट हजुरहरू सबैलाई अनुरोध गर्न चाहन्छु... धन्यवाद! जय नेपाल! "
उनको यो सन्देशले सामाजिक सञ्जालमा जाेडिएका व्यक्तिहरु बिच सकारात्मक सचेतना फैलाइरहेको छ। स्थानीय स्तरमा जिम्मेवार सुरक्षाकर्मीबाट प्राप्त यस्तो आत्मीय र समयानुकूल सन्देशले नागरिकलाई सजग र सतर्क गराउने विश्वास गरिएको छ।