शीतल भट्ट/ बेलाैरी, कञ्चनपुर —
कञ्चनपुरको बेलौरी नगरपालिका स्थानीय सेवा ऐन, २०७९ को दफा ९ पूर्ण कार्यान्वयनमा ल्याउने सुदूरपश्चिम प्रदेशकै पहिलो स्थानीय तह बनेको छ।
कर्मचारी समायोजन प्रक्रियाले लामो समयदेखि पर्खाइमा रहेका कर्मचारीहरूमा यस निर्णयले हर्ष र उत्साह भरिएको छ। भने, शुक्रबार नगरपालिकाले स्थानीय सेवा ऐनको दफा ९ अनुसार कर्मचारीको तह निर्धारण र समायोजन सम्पन्न गरेको हाे।
जस अन्तरगत चौथोबाट पाँचौं तहमा १२ जना, पाँचौंबाट छैठौंमा १८ जना र छैठौंबाट साताैं तहमा ११ जना गरी कुल ४१ जना कर्मचारीको तह मिलान गरिएको नगरपालिकाले जनाएको छ।
स्थानीय सेवा ऐनको दफा ९ मा उल्लेख गरिएको प्रावधानअनुसार, साबिक स्थानीय निकायबाट समायोजन भएर आएका तथा आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका कर्मचारीलाई एकपटकका लागि माथिल्लो तह कायम गरिने व्यवस्था छ।
यो व्यवस्थाअनुसार छैठौं र आठौं तहमा रहेका कर्मचारीलाई क्रमशः सातौं र नवौं तहमा तह उकास्ने र ज्येष्ठताको गणना नियुक्ति मितिबाटै गर्ने उल्लेख छ।
बेलौरी नगरपालिकाका नगरप्रमुख पाेतीलाल चाैधरीका अनुसार, “ऐनमा भएको प्रावधान अनुसार न्यायोचित र पारदर्शी ढंगले समायोजन प्रक्रिया सम्पन्न गरिएको छ। यसबाट कर्मचारीहरूको मनोबल बढ्नुका साथै सेवा प्रवाहमा समेत थप सुधार आउने विश्वास गरिएको छ।”
समायोजन प्रक्रिया सम्पन्न भएपछि लामो समयदेखि आशा बोकेर बसेका कर्मचारीहरूमा उल्लास छाएको छ। कृषि प्रविधिक सुशीला बाेहराले भनिन्, “हाम्रो योग्यता, अनुभव र सेवाको सम्मान गरिँदा हामी अझ जिम्मेवार भएर काम गर्न प्रेरित भएका छौं।”
यसअघि प्रदेशका अन्य पालिकाहरूले दफा ९ कार्यान्वयन गर्ने प्रक्रियालाई विलम्ब गरिरहेका बेला बेलौरी नगरपालिकाको यो निर्णय उदाहरणीय बनेको छ।
प्रदेश सरकार र सम्बन्धित निकायहरूले स्थानीय तहहरूलाई यस दिशामा अगाडि बढ्न प्रेरणा दिने खालको निर्णय भएको स्थानीय स्तरमै चर्चा भइरहेको छ।
स्थानीय सेवा ऐन कार्यान्वयनसँगै कर्मचारीको पद, तह र तलबको सुनिश्चितता हुनुका साथै दीर्घकालीन प्रशासनिक स्थायित्वमा टेवा पुग्ने विश्वास गरिएको छ।
यसले अबका दिनहरूमा कर्मचारी व्यवस्थापन थप सुशासनमुखी र नीतिगत ढंगले अघि बढ्ने संकेत दिएको प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले बताए ।