शुक्लाफाँटा नगरपालिका-१० झलारीमा आइतबार बिहानदेखि अवरुद्ध गरिएको पूर्व-पश्चिम राजमार्ग सुचारु भएको छ। झलारीका ललितराज जोशीको सवारी दुर्घटनामा मृत्यु भएपछि आफन्तले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै सडक बन्द गरेका थिए।
इलाका प्रहरी कार्यालय झलारीमा स्थानीय, पीडित परिवार र प्रहरी प्रशासनबीच वार्ता भएपछि सडक खुलाइएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्कबहादुर खत्रीका अनुसार, मृतकका सन्तानलाई प्रहरी आवासीय विद्यालयमा निःशुल्क शिक्षाको पहल गर्ने र कानुनअनुसार क्षतिपूर्ति दिने सहमति भएको छ। परिवारले सोमबार शव बुझ्ने पनि जनाएका छन्।
शुक्रबार बेदकोट नगरपालिका–१० मा भएको दुर्घटनामा ललितराज जोशीलाई मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्कर दिने गाडीमा प्रहरी जवान सिद्धराज जोशी र अमित भट्ट सवार थिए। गम्भीर घाइते भएका जोशीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निधन भएको हो। मृतककी श्रीमती लक्ष्मी ठगुन्नाको जाहेरीका आधारमा दुवै प्रहरी जवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।