निरु चाैधरी / बेलाैरी, कञ्चनपुर -
विश्व हिन्दू महासंघ सुदूरपश्चिम प्रदेश समितिले केन्द्रको परिपत्र कार्यान्वयन गर्दै सम्पूर्ण जिल्ला समितिहरूलाई एक महिनाभित्र जिल्लास्तरीय बैठक आह्वान गर्न निर्देशन दिएको छ।
संगठन सुदृढीकरण, स्थानीय तहमा विस्तार,र अधिवेशनको पूर्वतयारी स्वरूप उक्त निर्देशन गरिएको हो।
महासंघको राष्ट्रिय समितिको मिति ०८२ असार ६ गते सम्पन्न बैठकले सुदूरपश्चिम र कर्णाली प्रदेशभित्रका सम्पूर्ण जिल्ला तथा प्रदेश अधिवेशन एक वर्षभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको थियो।
सोही निर्णयको कार्यान्वयनका लागि सुदूरपश्चिम प्रदेश समितिको विशेष बैठक २८ असारमा कैलालीको धनगढी स्थित लक्ष्मी नारायण मन्दिर प्राङ्गणमा सम्पन्न भएकाे हाे।
बैठकमा महासंघ सुदूरपश्चिम प्रदेश समितिका संरक्षक श्री १००८ स्वामी देवराज आचार्य ज्यूको प्रमुख आतिथ्यता रहेको जनाइएको छ।
बैठकले प्रदेश भित्रका ९ वटै जिल्ला समितिहरूलाई उपयुक्त मिति, समय र स्थान तोकी जिल्लास्तरीय बैठक आयोजना गर्न, प्रतिनिधित्व गर्ने प्रदेश तथा केन्द्रका सदस्य पदाधिकारीहरूलाई समेत उपस्थित गराई संगठनको समग्र मूल्यांकन गरी सशक्त कार्ययोजना अघि बढाउन आह्वान गरेको छ।
सुदूरपश्चिम प्रदेश कार्यबाहक अध्यक्ष शिरोमणि कुमार ओझाका अनुसार, प्रत्येक जिल्लाले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण स्थानीय तहमा संगठन विस्तार गर्दै, हालसम्म भएका गतिविधिको विवरणसहित एकीकृत प्रतिवेदन तयार गर्नुपर्नेछ।
साथै, केन्द्रले जारी गरेको आधिकारिक परिपत्रअनुसार सदस्यता नवीकरण, आजीवन सदस्यता ठेली बुझाउने प्रक्रिया र कागजात व्यवस्थापनमा समेत जिल्लाहरूले सक्रियता देखाउनुपर्ने बैठकको निर्णय भएको अध्यक्ष ओझाले बताए ।
रेडियो सुदूर सञ्चार संगकाे टेलिफोन कुराकानीमा - "अब ढिलासुस्ती होइन, संगठन सुदृढीकरणको नयाँ चरण सुरु भएको छ," कार्यबाहक अध्यक्ष ओझाले भने, "हामी सबैजना संगठित भएर राष्ट्र, धर्म र संस्कृतिको संरक्षणमा एकताबद्ध भएर अघि बढ्नुपर्छ।"
संगठन विस्तारसँगै स्थानीय तहमा धार्मिक जागरण, हिन्दू संस्कृति प्रवर्द्धन, र सामुदायिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्य पनि महासंघले लिएको बताइएको छ।
यस ऐतिहासिक निर्णयसँगै सुदूरपश्चिममा विश्व हिन्दू महासंघको संगठनात्मक अभियानले नयाँ गति लिने विश्वास गरिएको विश्वहिन्दु युवासंघ सुदूरपश्चिम प्रदेश प्रमुख सम्राट सिंहले बताए । उनका अनुसार धर्म, संस्कार र राष्ट्रिय एकताको संरक्षण गर्ने उद्देश्यका साथ महासंघ अगाडि बढिरहेको छ।