निरु चाैधरी/ बेलाैरी, कञ्चनपुर—
जिल्लाकाे बेदकोट नगरपालिका–१० मा शुक्लाफाँटा आरक्ष पीडित संघर्ष समितिको एक विशेष छलफल सम्पन्न भएको छ।
बिहीबार समितिका अध्यक्ष सुरत बहादुर शाहको सभापतित्वमा शुक्लाफाँटा आरक्ष पीडित संघर्ष समितिको विशेष छलफल सम्पन्न भएको हाे।
०५८ साल देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (आरक्ष) काे निहुँमा नेपाल सरकारले घर निकाला गरेका २४ सय ७३ घरधुरीले अहिलेसम्म न्याय नपाएपछि उनीहरू पटकपटक संघर्षमा उत्रिनु परेको युवानेता शिराेमणि कुमार ओझाले बताए।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका ओझाकाे प्रमुख आतिथ्यमा संघर्ष समितिको वृहत् छलफल भएको छ।
कार्यक्रममा वडा अध्यक्षसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको जनाइएको छ।
कार्यक्रममा प्रमुख अतिथि ओझाले गाँस बास र कपासबाट वञ्चित आरक्ष पीडित समुदायको संघर्षप्रति ऐक्यबद्धता जनाउँदै राज्यको ध्यानाकर्षण गराए।
"संविधानले प्रत्याभूत गरेका हकहरू सबै नागरिकलाई समान रूपमा लागु हुनुपर्छ," उनले भने, "आरक्ष नीतिको कार्यान्वयनमा हुने विभेदले लोकतान्त्रिक मूल्य नै कमजोर बनाउँछ।"
संघर्ष समितिका अध्यक्ष शाहले आफ्नो धारणा राख्दै भने, "हामीले बारम्बार सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छौँ। तर अहिलेसम्म पीडित समुदायका मागप्रति कुनै सरकारले कुनै चासो दिएको छैन्।
पटकपटक विभिन्न आयाेग बन्दापनि सरकारले आश्वासन बाहेक अरुकेही नदिएको पीडितहरुको गुनासो छ।,
यदि यही अवस्था रह्यो भने पुनः सशक्त र चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ।"
कार्यक्रममा विभिन्न वक्ताहरूले समानुपातिक समावेशी सिद्धान्त अनुसार समस्या समाधान र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
सहभागीहरूले वर्षौंदेखि घरबारविहीन आरक्ष पीडित समुदायलाई समेट्ने नीति निर्माणको माग गरेका छन् ।
उनीहरूले आगामी कार्यक्रममा सरकारलाई थप दबाब सिर्जना गर्ने रणनीति समेत बनाएका छन् ।