कञ्चनपुर : प्यारातालमा पत्रकार महासंघको घुम्ती बैठक सम्पन्न

होमपेज / समाचार /
  • निरु चौधरी
  • ३ साउन २०८२ (१ दिन अघि)
  • १२०

निरु चाैधरी/ बेलाैरी, कञ्चनपुर -

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र प्यारातालमा नेपाल पत्रकार महासंघ कञ्चनपुरको शाखाको घुम्ती बैठक सम्पन्न भएको छ।

तालको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका लागि पत्रकार महासंघकाे घुम्ती बैठक सम्पन्न भएको हाे।

शुक्रबार सम्पन्न बैठकमा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा, वडा नं. ९ का वडाध्यक्ष नरबहादुर विक, पत्रकार तथा सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा महासंघका केन्द्रीय सदस्य सुरेश पन्त प्रमुख अतिथि तथा पुनर्वास नगरप्रमुख शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

प्राकृतिक सम्पदाको संरक्षणमा संचार क्षेत्रको भूमिका महत्वपूर्ण

बैठकमा बोल्दै प्रमुख अतिथि सुरेश पन्तले प्याराताल क्षेत्र पुनर्वास मात्र नभई सम्पूर्ण सुदूरपश्चिम प्रदेशका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए। “प्राकृतिक सम्पदाको संरक्षणमा सञ्चारकर्मीले सशक्त भूमिका निर्वाह गर्न सक्छन्,” उनले भने, “यस्ता ठाउँको प्रचारप्रसार र चेतनामा सञ्चार माध्यम अत्यन्तै प्रभावकारी हुन सक्छ।”

स्थानीय तहबाट संरक्षण र पूर्वाधार निर्माणको प्रतिबद्धता

विशिष्ट अतिथि नगरप्रमुख तोयप्रसाद शर्माले प्यारातालको संरक्षण र पूर्वाधार विकासका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। “हामी प्याराताल क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउने कार्यमा प्रतिबद्ध छौँ,” उनले भने, “समुदायको सहकार्य र सञ्चारकर्मीको साथले यो सम्भव छ।”

स्थानीयकाे सक्रिय सहभागिता

पुनर्वास नगरपालिका वडा नं. ९ का अध्यक्ष नरबहादुर विकले प्यारातालको संरक्षणका लागि आवश्यक कानून निर्माण, क्षेत्र वरिपरि फोहोर व्यवस्थापन र सुरक्षा व्यवस्थामा वडा कार्यालयले अग्रसरता लिने बताए। “यो हाम्रो गर्वको विषय हो, यसलाई हामी सबै मिलेर जोगाउनेछौँ,” उनले भने।

पत्रकार महासंघ कञ्चनपुरले सञ्चालन गर्न थालेको मासिक घुम्ती बैठक कार्यक्रमअन्तर्गत पहिलो बैठक प्यारातालमा सम्पन्न गरिएको हो। 

महासंघ अध्यक्ष सुरेश धामीले प्यारातालबाट सुरुवात गर्नुको उद्देश्य प्राकृतिक स्रोतको प्रचारप्रसार र महत्त्वलाई उजागर गर्नु रहेको बताए। “पर्यटकीय सम्भावना बाेकेकाे यस प्यारातालकाे प्रचारप्रसारमा पत्रकार महासंघकाे पूर्ण साथ रहनेछ,” उनले भने।

बैठकपछि सहभागीहरूले प्याराताल क्षेत्रको अवलोकन गर्दै क्षेत्रकाे विकास र संरक्षण अभियानमा निरन्तर कलम चलाउने प्रतिबद्धता जनाएका छन् ।

अन्तिम अध्यावधिक: ३ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस