निरु चाैधरी / बेलाैरी, कञ्चनपुर –
बेलौरी नगरपालिकामा बुधबार लागूऔषध नियन्त्रण र शान्ति–सुरक्षा विषयक खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीय जनप्रतिनिधिको उल्लेखनीय सहभागिता थियो।
बेलाैरी नगर उपप्रमुख जोगराम चौधरीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बरबहादुर वि.क प्रमुख अतिथिका रूपमा सहभागी थिए।
उनले सीमावर्ती क्षेत्रमा देखिएका चुनौतीबारे धारणा राख्दै स्थानीय समुदायको सहकार्य अपरिहार्य भएको बताए। “खुला सीमा अपराधीका लागि अवसर नबनोस्,” उनले भने, “सूचनाको सञ्जाल बलियो बनाउनुपर्छ। लागूऔषध नियन्त्रण कानुनी मात्र होइन, सामाजिक दृष्टिकोणबाट पनि गर्नुपर्छ।”
उनले बालबालिकामाझ फैलिँदो लागूऔषध दुव्र्यसनलाई गम्भीर समस्या बताउँदै अभिभावक र विद्यालयले जागरूकता बढाउनुपर्नेमा जोड दिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) खड्क बहादुर खत्रीले समुदायबाट प्राप्त सूचनालाई प्राथमिकतामा राखेर कारबाही गरिने जानकारी दिए।
“अब इन्टेलिजेन्स–ड्रिभन अपरेशनलाई अझै प्रभावकारी बनाइन्छ,” उनले भने।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्दले स्थानीय शान्ति सुरक्षा र लागूऔषध राेकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिइरहेको बताए।
सहभागी धर्मेन्द्र गिरीले निरीक्षक चन्दको कार्यशैलीको प्रशंसा गर्दै विगतमा बेलौरीलाई लागूऔषध ओसारपसारको ट्रान्जिट पोइन्ट मानिए पनि पछिल्लो समय यस्ता घटना कम भएको बताए।
जिल्ला समन्वय समितिकी रामकुमारी रानाले समन्वय संयन्त्रलाई अझ सक्रिय बनाइने बताइन्। बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले लागूऔषध नियन्त्रणमा परिवार र विद्यालयको भूमिका महत्त्वपूर्ण रहेको बताइन्।
“बालबालिका पक्राउ पर्दा प्रहरीलाई मात्र दोष दिनु गलत हो,” उनले भनिन्।
बेलडाँडी–५ का वडाध्यक्ष इन्द्रबहादुर खड्काले टोलस्तरमै सूचनाको प्रवाह गर्नुपर्ने बताए। बेलडाँडी–३ का वडाध्यक्ष दुर्गा प्रसाद चौधरीले सीमावर्ती क्षेत्रमा संयुक्त गस्तीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। बेलौरी–६ का वडाध्यक्ष भोजराज चौधरीले भन्सार क्षेत्रको सुरक्षा कडाइ गर्नुपर्ने बताए।
सञ्चारकर्मीहरूले अनुसन्धानात्मक समाचार र सचेतनामूलक सामग्री उत्पादन गरेर लागूऔषधविरुद्ध अभियानलाई सबल बनाउन प्रतिबद्धता जनाएका छन्।
कार्यक्रमले सीमाक्षेत्रका ‘हटस्पट’ बिन्दुमा संयुक्त गस्ती गर्ने, सूचना संकलनलाई प्रभावकारी बनाउने, विद्यालय र समुदायस्तरमा नियमित सचेतना कार्यक्रम सञ्चालन गर्ने लगायतका सवालमा जाेड दिएकाे छ।
कार्यक्रममा सहभागीहरूले लागूऔषध नियन्त्रण, अवैध गतिविधि न्यूनीकरण र सीमा सुरक्षामा सामूहिक प्रतिबद्धता जनाए।
“प्रहरी मात्रले सबै समस्या समाधान गर्न सक्दैन,” सहभागीहरूले भने, “ लागूऔषध नियन्त्रणका लागि समुदाय, स्थानीय सरकार र सराेकारवाला सबै पक्षले हातेमालो गर्नुपर्छ।”