ट्रेण्डिङ

कञ्चनपुर : बेलौरीमा दोस्रो रामलीला मञ्चनका लागि तयारी सुरु, समितिको पूर्ण बैठक सम्पन्न

होमपेज / कला संस्कृति / विविध / समाचार / समाज /
यसपटक दशैं तिहारकाे बीच रामलीला गर्छौं : संयोजक कुँवर
  • रेडियो सुदूर सञ्चार
  • १४ साउन २०८२ (३ हप्ता अघि)
  • १२२०

चन्द्रिका चौधरी/ बेलौरी, कञ्चनपुर –

हिन्दू धर्ममा भगवान् रामलाई सत्य, मर्यादा र आदर्शको प्रतिमूर्तिका रूपमा मानिन्छ। भगवान् रामको जीवनमा आधारित रामलीला नाटक–मञ्चन केवल धार्मिक कार्यक्रम मात्र नभई सांस्कृतिक संरक्षण र सामाजिक सद्भावका लागि महत्वपूर्ण मानिन्छ।

नेपालसहित दक्षिण एशियाका धेरै स्थानमा हरेक वर्ष रामलीलाको भव्य मञ्चन गरिन्छ, जसले स्थानीय समुदायमा सांस्कृतिक एकता र धार्मिक आस्थालाई सुदृढ बनाउँछ।

यही परम्परालाई निरन्तरता दिँदै कञ्चनपुरको बेलौरीमा दोस्रो पटक रामलीला मञ्चन कार्यक्रम आयोजना गर्न प्रारम्भिक तयारी सुरु गरिएको छ।

बुधबार बेलौरी सांस्कृतिक तथा रामलीला समितिको पूर्ण बैठकबसी कार्यक्रमको सम्भावित मिति (दशैं - तिहार) स्थान र तयारीका विषयमा विस्तृत छलफल गरिएको समितिका संयोजक दिनेश कुँवरले बताए।

गत वर्ष बेलौरीको खुला मञ्चमा दुईदशक पछि पहिलो पटक आयोजना गरिएको रामलीला मञ्चन अपेक्षाकृत भव्य रूपमा सम्पन्न भएको थियो।

हजारौं दर्शकको उपस्थितिमा सम्पन्न लीलाले स्थानीय समुदायमा ठूलो उत्साह र आस्था जगाएको थियो। यस वर्ष सोही सफलतालाई निरन्तरता दिँदै कार्यक्रमलाई अझ स्तरीय र व्यवस्थित बनाउन लक्ष्य राखिएको संयोजक कुँवरकाे भनाइ छ।

“गत वर्ष प्राप्त अनुभवलाई आधार मानेर यसपटक हामीले नयाँ अनुभूति दिन तयारी सुरु गरेका छौं। हामी रामलीलालाई अझ प्रभावकारी र आकर्षक बनाउन चाहन्छौं,” उनले भने - रामलीला सम्बन्धी सबै आफ्नै बस्त्र जाेड्न समेत हामी सफल भएका छाैं।,

रामलीला समितिका सचिव रामेश्वर न्यौपानेले पनि विगतको अपार सफलता र दर्शकहरूको माया नै यस वर्ष आयोजनाको मुख्य प्रेरणा भएको बताए।

“भगवान् रामको जीवन–दर्शन र आदर्शलाई अझ गहिरो भावनासहित जनसमक्ष ल्याउने हाम्रो उद्देश्य हो। यसपटक संवाद, कथावाचन र प्रस्तुतीकरणमा नयाँपन ल्याउने योजना बनाएका छौं,” उनले स्पष्ट पारे।

बैठकमा समितिका पदाधिकारी, सदस्य, धार्मिक अगुवाहरू तथा स्थानीय युवाहरू सहभागी थिए। सहभागीहरूले कार्यक्रमलाई भव्य र सभ्य बनाउन, विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्न, दर्शकहरूको सहज सहभागिता सुनिश्चित गर्न, सुरक्षा र व्यवस्थापन पक्षमा विशेष ध्यान दिन सुझाएका छन् ।

समितिले आगामी दिनमा मञ्चनको मिति र समयावधि सहित विस्तृत रुपरेखा जानकारी गर्ने जनाएको छ। संयोजक कुँवरका अनुसार रामलीलालाई यस वर्ष धार्मिक कार्यक्रम मात्र नभई सांस्कृतिक एकता र सामाजिक सद्भाव बढाउने साझा उत्सवको रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको छ।

अन्तिम अध्यावधिक: १५ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस