नागरिक उन्मुक्ति पार्टीका बहुमत सदस्यहरूको भेलाले अध्यक्षबाट हटाइएकी रन्जिता श्रेष्ठले भेला नै अवैधानिक भएको बताएकी छन्।
रेशम चौधरी पक्षको पछिल्लो गतिविधिले पार्टी अझै कमजोर बनेको टिप्पणी उनको छ। रेशम पक्षलाई विधि विपरीत केन्द्रीय समितिको बैठक बोलाइएको, अवैधानिक राष्ट्रिय भेला बसिरहेको र राष्ट्रिय भेला नै अवैधानिक भएकाले आफूमाथि गरिएको कारबाहीको कुनै औचित्य नभएको दाबी श्रेष्ठको छ।
उनले भनिन, ‘राष्ट्रिय भेला बोलाउने अधिकार हाम्रो पार्टीको विधानअनुसार अध्यक्ष अर्थात् अध्यक्ष पदमा रहेको व्यक्तिलाई मात्र हुन्छ। मैले कुनै राष्ट्रिय भेला आह्वान गरेको छैन। त्यसैले त्यो भेला नै वैधानिक छैन। अवैधानिक भेलाले गरेको निर्णय वैधानिक हुने कुरै भएन।’
राष्ट्रिय भेला बोलाएर पार्टीभित्र थप किचलो निम्त्याउन खोजेको उनको आरोप छ। आफूले नबोलाएको भेला अवैधानिक भएको भन्दै त्यो भेलाले गरेको बसै निर्णयहरू निर्वाचन आयोगले मान्यता नदिने उनको दाबी छ।
नागरिक उन्मुक्ति पार्टीको विधानले बैठक बोलाउने अधिकार हरेक कमिटीको अध्यक्षलाई दिएको छ। अध्यक्षको निर्देशनमा महासचिवले वा सचिवले बैठक बोलाउने व्यवस्था छ। शनिवार बसेको संसदीय दलको बैठकले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो।
बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई बैठक बोलाउन माग गरे, अध्यक्षले बैठक नबोलाएपछि स्पष्टीकरण सोधियो। त्यसको जवाफ पनि नदिएपछि राष्ट्रिय भेला बोलाएर उनलाई बर्खास्त गरिएको हो। ‘संसदीय दलको बैठकले पार्टीको बैठक बोलाउनै मिल्दैन। पार्टी भित्र समस्या त्यहीबाट सुरु भएको हो।
महासचिव भन्दै माननीय गङ्गा चौधरीले पत्र काट्नु भएको छ। निर्वाचन आयोगले उहाँलाई महासचिवको रूपमा चिन्दैन,’ उनले भनिन्।निर्वाचन आयोगमा रहेको तथ्याङ्क अनुसार नागरिक उन्मुक्तिमा २१ सदस्यीय केन्द्रीय समिति छ। उक्त विवरणले महासचिवका रूपमा गङ्गा चौधरीलाई चिन्दैन।
उनलाई पहिलो केन्द्रीय महाधिवेशनले महासचिवको रूपमा निर्वाचित गराएको थियो। जुन निर्वाचन आयोगले मान्यता दिएन। कानुनी रूपमा महासचिव नै नरहेको व्यक्तिले महासचिव भन्दै पत्र काटेर पार्टीको लेटर प्याडको पनि दुरुपयोग गरेको उनको आरोप छ।
साउन ११ गते श्रेष्ठले कास्कीका शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएपछि पार्टी भित्र थप विवाद चर्किएको थियो। अध्यक्षले विधि विपरीत कार्यवाहक तोकेको भन्दै निर्वाचन एवं अनुशासन आयोगले उनलाई साधारण सदस्य समेत नरहनेगरी कारबाहीको सिफारिस गर्दा उनले अध्यक्ष श्रेष्ठले आफूले आफ्नो अधिकार प्रयोग गरेर विधानअनुसारै कार्यवाहक तोकेको बताइन्।
‘संरक्षक रेशम चौधरी ज्यूले कि राजीनामा दिन, कि कार्यवाहक तोक्न सुझाव दिनुभएको थियो। त्यही सुझावलाई मानेर मैले कार्यवाहक तोके’ उनले भनिन्, ‘मैले एक वर्ष पहिल्यै वरिष्ठ नेतामा मनोनीत गरेको नेतालाई नै कार्यवाहक दिए। यो पनि विधानमा छ।’ उनले एक वर्ष पहिले वरिष्ठ नेता मनोनीत गर्दा विवाद नगर्ने अहिले विवाद गर्नुको कुनै औचित्य नभएको बताइन्।
नागरिक उन्मुक्ति पार्टीले नयाँ कार्यसमिति चयन गर्ने भएको छ। काठमाडौँमा राष्ट्रिय भेला जारी छ। बहुमत केन्द्रीय सदस्यले आह्वान गरेको भेलामा रन्जिता पक्षका केन्द्रीय सदस्य तथा सांसद उपस्थित छैनन्। अध्यक्ष रन्जितालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको भेलाले बिहिवार नयाँ कार्यसमिति चयन गर्ने छ।
अहिलेसम्म अध्यक्षमा निर्वाचन एवं अनुशासन आयोगका अध्यक्ष रामलाल डगौरा, प्रतिनिधि सभा सदस्य लालवीर चौधरी र गङ्गा चौधरीको चर्चा छ। लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् भने रामलाल टीकापुर नगरपालिकाका मेयर हुन्।
नयाँ कार्यसमिति तयार गर्ने रणनीतिमा रहेका रेशम चौधरी निर्वाचन आयोगको परामर्शमा छन्।