गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागूऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतीका रूपमा देखिएको बताए ।
‘लागूऔषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पत्ति गर्छ । त्यसैले हामीले एक वर्षमा लागूऔषधविरुद्धको महाअभियान लागू गरेका थियौँ , ’उनले भने अभियान सार्थक भएको छ ।
विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागूऔषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए । आगामी दिनमा थप प्रभावकारी ढंगले यो चुनौतीको सामना गर्नुछ । स्रोत साधनको कमी भए पनि चाहँदा धेरै काम गर्न सकिन्छ । त्यो यो एक वर्षमा देखिएको छ, ‘उनले भने। लागूऔषधको बिगबिगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
खास गरेर युवाहरूमा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवा शक्ति लागूऔषधमा फसेको देखिएको छ, ’उनले भने ‘लागूऔषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागूऔषधको अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागूऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै मानिसको जिम्मेवारी हो ।’
यस्तै गृहमन्त्री लेखकले लागूऔषध ब्युरोलाई विभागकै रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । लागूऔषध ब्युरोलाई विभागका रूपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ, ’उनले भने।
गृहमन्त्रीले लागूऔषध ब्युरोलाई विभागका रूपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए । कार्यक्रममा महानिरीक्षक थापाले लागूऔषध ब्युरोलाई विभागका रूपमा विकास गर्ने गृहमन्त्रीको प्रस्ताव सराहनीय रहेको बताए ।