कञ्चनपुर -
कञ्चनपुरमा नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला परेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका अन्दाजी ७० वर्षीय गणेश कुँवरको शव आज फेला परेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरस्थित शिविरमा बस्दै आएका कुँवर नदी तर्ने क्रममा शुक्रबार साँझ बगेर बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार खोजतलास गर्ने क्रममा बगेको ठाउँभन्दा करिब दुई किलोमिटर दक्षिण सनवोरा र स्याली नदीको दोभानमा आज कुँवरको शव फेला परेको हो ।
शव परीक्षण गर्नका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको जनाउँदै उनले कुँवरको तीन दिनसम्म प्रहरी, स्थानीय बासिन्दालगायतले खोजी गरेका बताए ।