कञ्चनपुर -
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अवैधरुपमा पालन गर्दे आएको चित्तलहरू वाणी सव डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेको छ । विगत एक वर्षदेखि अवैधरुपमा चित्तल पालन गर्दे आएको कृष्णपुर नगरपालिकाले आइतबार दिउँसो वाणी सव डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेको हो । कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले विगत एक वर्ष पहिले घाइते अवस्थामा फेला परेको चित्तलको सम्पूर्ण उपचार पछि आइतबार वाणी सव डिभिजन वन कार्यालय कञ्चनपुरलाई हस्तान्तरण गरिएको पुष्टि गरे ।
वाणी सव डिभिजन वन कार्यालय कञ्चनपुरका वरिष्ठ वन अधिकृत भरत प्रसाद शाहले आइतबार एक भाले र पोथी गरी दुई चित्तलको नगरपालिकाबाट उद्धार गरेर सुरक्षित स्थानमा लगिएको बताए । यस अघि डिभिजन वन कार्यालय कञ्चनपुरले वाणी सव डिभिजन वन कार्यालयलाई चित्तलको विषयमा जाँचवुझ प्रतिवेदन पेश गर्न आदेश दिएको थियो । सोही अनुरूप प्रक्रिया पुगाएर भाले र पोथी चित्तललाई डिभिजन वन कार्यालय मार्फत शुक्लाफाँटा निकुञ्जको कार्यालयलाई बुझाइएको उनले बताए । अहिले दुवै चित्तलहरुलाई निकुञ्जको उद्दार केन्द्रमा राखिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक प्रमुख राजेश लम्सालले निकुञ्जमा ल्याइएका चित्तलहरू केही दिनमा प्राकृतिक वासस्थानमा छोडिने बताउनुभयो । “निकुञ्जको कार्यालयमा भाले र पोथी गरी दुई वटा चित्तल ल्याइएको छ, उनले भने,-भाले चित्तलको खुट्टामा घाउँ रहेकाले उपचार पछि सुरक्षित वासस्थानमा लगेर छाड्छौ ।”
विगत एक वर्षदेखि अनुमति नलिएरै चित्तल पालन गरेको भन्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा विवादमा तानिएका थिए । शनिवार महेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रम गर्दे नगरप्रमुख ओझाले घाइते चित्तल ल्याएर नगरपालिकामा उपचार गरिएको प्रतिक्रिया दिएका थिए ।