सुदूरपश्चिम विश्वविद्यालयले ५० प्रतिशत छात्रवृत्तिसहित इन्जिनियरिङ विषयमा भर्ना खुलाएको छ । विश्वविद्यालयले स्नातक तहका लागि कम्प्युटर इन्जिनियरिङ र आर्किटेक्चर, सिभिल इन्जिनियरिङ विषयमा समान ४८/४८ सिटमा भर्ना खुलाएको हो ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङमा तीन वटै विषयमा भर्ना हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन लागिएको डिन एवम् प्राडा कृष्णदत्त भट्टले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयमा हरेक विषयमा २४/२४ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।
जेहेनदार, पिछडिएका वर्ग र सुदूरपश्चिमका नौ वटा जिल्लाहरूका स्थानीयलाई (नागरिकता लिएकै जिल्लाबाट कक्षा १२ पास गरेका विद्यार्थी) मा वर्गीकरण गरेर छात्रवृत्ति दिइने उनले बताए । पूर्ण रूपमा नेपाल सरकारको लगानीमा सञ्चालित विश्वविद्यालय भएकाले ५० प्रतिशत विद्यार्थीलाई नै छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
प्राडा भट्टले भने, “छात्रवृत्ति पाउने विद्यार्थीको ट्युसन फि निस्शुल्क हुन्छ । सेमेस्टर धरौटी लगायतका सामान्य खर्चहरू मात्र विद्यार्थीले तिर्नुपर्छ ।” विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीहरूले १६ साउनदेखि १३ भदौसम्म अनलाइनमार्फत फाराम भर्न सक्नेछन् । प्रवेश परीक्षाको लागि दुई हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।
स्कुल अफ इन्जिनियरिङ महेन्द्रनगरमा पढ्ने विद्यार्थीहरूका लागि १८ भदौमा बिहान ११ बजेदेखि प्रवेश परीक्षा सञ्चालन हुनेछ । यस्तै, कक्षा भने दिवा सत्रमा सञ्चालन हुने बताइएको छ ।
विश्वविद्यालयले सिभिल इन्जिनियरिङ विषयमा दुई वटा क्याम्पसलाई सम्बन्धन प्रदान गरेको छ । ती क्याम्पसहरूमा पुगेर २२ भदौसम्ममा आवेदन दिन सकिनेछ । सम्बन्धन प्राप्त क्याम्पसमा प्रवेश परीक्षा २५ भदौको बिहान ११ बजेदेखि सञ्चालन हुनेछ । ती कलेजहरूमा भने कोटा सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति अनिवार्य गरिएको प्राडा भट्टले जानकारी दिए ।