इजरायलले गाजामा राखिएका सबै ५० जना बन्धकको रिहाइको माग गरिरहेको एक इजरायली अधिकारीले बताएका छन् । यसले हमासले हिजो सहमति जनाएको ६० दिने युद्धविरामको नयाँ प्रस्तावलाई स्वीकार गर्ने कि नगर्ने भन्नेमा आशङ्का उत्पन्न भएको बीबीसीले जनाएको छ ।
कतार र इजिप्टले प्रस्तुत गरेको प्रस्तावमा झन्डै आधा बन्धकहरूको रिहाइ हुने छ । कतारका अनुसार यो इजरायलले पहिले स्वीकार गरेको अमेरिकी प्रस्तावसँग मिल्दोजुल्दो छ ।
इजरायलले यो प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार नगरेको तर इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले इजरायल ‘आंशिक सम्झौता’ मा रुचि नराख्ने बताउनुभएको खबरमा उल्लेख छ । अहिले परिस्थिति परिवर्तन भएको र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको भविष्यका लागि योजना बनाउनुभएको उहाँको भनाइ छ ।
प्यालेस्टिनी स्रोतहरूका अनुसार प्रस्ताव अन्तर्गत १० जना जीवित बन्धक र १८ जनाका शव हस्तान्तरण गरिने तथा यही समयमा दुवै पक्षले स्थायी युद्धविराम तथा बाँकी बन्धकहरूको रिहाइका विषयमा छलफल गर्नेछन् ।
२२ महिनाको युद्धपछि ५० बन्धकमध्ये २० जना मात्र जीवित रहेका इजरायलको विश्वास छ ।