झन्डै दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको माग गर्दै इजलायल पुगेका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी स्वदेश फर्किएका छन् । गएराति उनीहरु फर्किएका हुन् ।
बिपिन जोशीको न्यायको लागि इजरायल पुगेकी आमा र बहिनी मन भारी पार्दै नेपाल फर्किएका हुन् । छोरालाई संगै लिएर आउने सपना भने अझै पुरा हुन सकेन ।
प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका कञ्चनुपरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेटेका थिए ।
राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँगको भेटमा उनीहरुले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा भएको भेटवार्तामा राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए ।
भेटका क्रममा आमा पदमाले विपिनको तत्काल रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग अनुरोध गरेकी थिइन् ।
बहिनी पुष्पाले पनि बन्धक बनाइएका दाजुलाई सुरक्षित नेपाल फर्काउन विशेष पहल गर्न आग्रह गरेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार राष्ट्रपति हर्जोगले विपिनको घटनाबारे आफू र सरकार निरन्तर सचेत रहेको बताएका थिए ।
कृषिका विद्यार्थी विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् ।
उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए । सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।