चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर —
बेलौरी नगरपालिका–९ स्थित कुण्डा पर्यटकीय स्थलकाे शनिबार स्थानीय सरकारका प्रमुख पोतीलाल चौधरीद्वारा औपचारिक रूपमा उद्घाटन गरिएको छ।
लामो समयदेखि संरक्षणकाे पर्खाइमा रहेको यो स्थललाई स्थानीय सरकारले व्यवस्थित पर्यटन गन्तव्यको रूपमा विकास गर्ने योजना अघि बढाएको छ।
उद्घाटनको अवसरमा कुण्डा पर्यटन संरक्षण तथा प्रवर्द्धन समितिले नगरप्रमुख चौधरीलाई भव्य स्वागत तथा अभिनन्दन गर्दै नगर पर्यटन क्षेत्रको विकासमा देखाएको अग्रसरतालाई प्रशंसा गरेका छन्।
नगरप्रमुख चौधरीले उद्घाटन समारोहमा भने, “कुण्डा केवल मनोरञ्जन वा पिकनिक स्थल मात्र होइन। यो हाम्रो स्थानीय अर्थतन्त्र, रोजगारी र दीर्घकालीन विकासको महत्वपूर्ण आधार स्तम्भ पनि हो।,
यहाँ आउने आगन्तुकहरूले प्राकृतिक अनुपम सौन्दर्यको अनुभव मात्र पाउने छैनन्, स्थानीय व्यवसाय, कृषि उत्पादन र आधुनिक एवम् परम्परागत कला र संस्कृतिको प्रत्यक्ष अवलोकन गर्न पाउने छन्।
"हामीले शोभाताल, बन्दाताल र अन्य तालहरूलाई पनि व्यवस्थित पर्यटन स्थलका रूपमा विकास गर्ने योजना अघि बढाएका छौं। चाैधरीले भने, यसले स्थानीय युवालाई रोजगारीका अवसर मात्र दिने होइन, उनीहरूलाई व्यवसायिक तालिम र पर्यटन व्यवस्थापनमा नयाँ अनुभव प्राप्त गर्ने अवसर पनि प्रदान गर्नेछ।
स्थानीय सरकारको पहल, समितिको सक्रियता र समुदायको सहयोगले मात्र क्षेत्रकाे दिगो पर्यटन विकास सम्भव छ।
स्थानीय सरकारले आन्तरिक तथा वाहिय पर्यटकको सुरक्षा, पूर्वाधार, सरसफाइ, सूचना र आगन्तुक सुविधा जस्ता पक्षमा जाेड दिएकाे छ।
कुण्डा क्षेत्रकाे पर्यटनले मनोरञ्जन संगै स्थानीय अर्थतन्त्र, सांस्कृतिक पहिचान र सामाजिक विकासमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आगामी वर्षभित्र यहाँ आउने आगन्तुकको संख्या उल्लेखनीय रूपमा बढ्नेछ र स्थानीय व्यवसायमा सकारात्मक प्रभाव पर्नेछ विश्वास छ।”
कार्यक्रमलाई सम्बाेधन गर्दै दुईपटक मेयरमा निर्वाचित चौधरीले नगर क्षेत्रकाे पर्यटन विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
उनले कुण्डा पर्यटन संरक्षण तथा प्रवर्द्धन समितिलाई पिकनिक सञ्चालनका लागि आवश्यक भाँडा–बर्तन हस्तान्तरण पनि गरेका छन्।, जसले पर्यटन गतिविधिलाई व्यवस्थित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
समितिका पदाधिकारीहरूले स्वागत–अभिनन्दनपछि स्थानीय सरकारको सहयोगले पर्यटन व्यवस्थापन र विकासलाई व्यवस्थित बनाउन टेवा पुगेको प्रतिक्रिया दिएका छन्।
पर्यटन विकासबारे स्थानीय सरकारले चालेको कदमलाई सकारात्मक रुपमा लिदैं समितिले स्थानीय उत्पादन, हाेम स्टे, घाेडा सवार (हर्स राइडिङ्ग) होटल–रेस्टुरेन्ट र सेल्फी स्पाेर्टकाे दिर्घकालिन याेजना अघिसारेको छ।
कुण्डा पर्यटन संरक्षण तथा प्रवर्द्धन समितिले ताल परिसरमा पार्किङ सुविधा, शौचालय, विश्रामस्थल, गेट र सूचना बोर्ड जस्ता पूर्वाधार निर्माणको माग गरेको छ।
यसले कुण्डा आगन्तुक पर्यटकलाई सहजता प्रदान गर्ने र पर्यटकीय गतिविधिलाई व्यवस्थित बनाउने विश्वास जगाएको छ।
शनिबारको उद्घाटन समारोहमा स्वागत–अभिनन्दन र नगरप्रमुखको सम्बोधनले सहभागी र समुदायलाई पनि उत्साहित बनाएको थियाे।
कार्यक्रममा उपस्थित सराेकारवालाहरुले कुण्डा क्षेत्रलाई निकट भविष्यमा नगरकै ऐतिहासिक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने विश्वास व्यक्त गरेका छन्।
उद्घाटन समारोहमा समितिका पदाधिकारी, गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि र स्थानीय सराेकारवालाहरुकाे उल्लेखनीय सहभागिता रहेको थियो ।