रैथाने अन्डी (अनदी) धान मासिँदै गएपछि थारू समुदायको अट्वारी पर्वमा असर परेको छ । अट्वारी पर्वका लागि अन्डी धानको चामल चाहिनेमा त्यो अभाव हुँदा थारू समुदायको महत्वपूर्ण पर्वमा असर परेको हो । अट्वारी मनाउन अन्डीको रोटी अनिवार्य परिकार मानिन्छ । यो बाली मासिँदै गएपछि धेरैले अट्वारी नै नमनाउने अवस्था छ । खेती किसानी गर्दै आएका परिवार नै अन्डीको चामल नहुँदा अट्वारी पर्वमा व्रत बस्दैनन् । खेती नगर्ने परिवारलाई झनै समस्या छ । अट्वारीका लागि अन्डीको चामल पाउनै मुस्किल रहेको स्वास्थ्यकर्मीसमेत रहेकि कुसुम चौधरीले बताइन् । “धेरैतिर खोजेँ । बल्लबल्ल एक ठाउँमा पत्ता लाग्यो तर, थोरै भएकाले बेच्नै मानेनन्,” उनले,थपिन् “अन्डीको चामलबिना त अट्वारी पर्व कसरी मनाउने ?”
पश्चिमका थारू समुदायले दुई दिनसम्म मनाउने यो पर्व यस वर्ष भदौ ८ देखि सुरु भएको छ । पर्व नजिकिए पनि कतिपय परिवारले अन्डीको चामल पाउन सकेका छैनन् । अट्वारीमा अन्डीको चामलको पिठो बनाएर त्यसको रोटी पकाउने, खाने र त्यही रोटी आफ्ना विवाहित दिदीबहिनीलाई उपहारका रूपमा अग्रासन दिने चलन छ ।
अट्वारी विशेष पर्व भए पनि अन्डीको धान नहुने गरेका कारण यो पर्वलाई धेरै जसोले आधुनिक तरिकाले मनाउन थालेको धनगढी उपमहानगरपालिका–५, जाईका भलमनसा कुलवीर चौधरीले बताए । “हाम्रोतिर अचेल अन्डी धानको खेती कोही पनि गर्दैनन्,” उनले भने, “कतिपयले आधुनिक तरिकाले अट्वारी मनाउन थाले । कतिपयले पर्व मनाउँदैनन् ।”
सुदूरपश्चिम प्रदेशमा तराईको रैथाने बाली अन्डी धान र थारू आलु मानिन्छ । पछिल्लो समय थारू आलुतर्फ किसानको आकर्षण थोरै बढे पनि अन्डी धानको खेतीमा भने आकर्षण छैन । कतिपयले आफूलाई चाहिने थोरै मात्रै अन्डी धानको खेती गर्ने गरेका छन् । धेरै जसोले यसको सट्टा उन्नत प्रजातिका धान लगाउने गरेका छन् ।
अन्डी धान उत्पादन कम हुने र ढिलो पाक्ने कारणले किसानले मास्दै गएको भजनी नगरपालिका–५, लालबोझीका कृषक खोजराम चौधरीको ठम्याइ छ । उनले भने, “अन्डी धान उत्पादन अरू धानको तुलनामा कम हुन्छ । ढिलो पाक्छ । त्यसैले किसानले छोड्दै गएका हुन् ।” कृषि ज्ञान केन्द्रका अनुसार अन्डी धान धार्मिक, पौष्टिक हिसाबले निकै महìवपूर्ण थारू रैथाने बाली हो । थारू समुदायमै यो बाली अहिले बिलय हुँदै गइरहेको छ । सरकारले नीतिगत रूपमा ध्यान नदिएका कारण महìवपूर्ण रैथाने बाली अन्डी धानको जगेर्ना हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए । उनले अन्डी धानको महत्वका बारेमा किसानलाई बुझाउन र यसको क्षेत्रफल बढाउन आवश्यक रहेको औँल्याए ।
बिस लाख बजेट
रैथाने अन्डी धान र थारू आलुका लागि ज्ञान केन्द्रमा चालु आवमा २० लाख रुपियाँ बजेट आएको छ । गत आव यसैका लागि आठ लाख रुपियाँ बजेट रहेको थियो । आएको बजेटलाई बिउबिजन, मल, विषादी, कृषि यन्त्र, तालिमलगायत सदुपयोग गर्ने जनाइएको छ ।
केन्द्रको अनुदान सहयोगमा यस वर्ष कैलालीको कैलारी गाउँपालिकामा चाररपाँच बिघा जमिनमा अन्डी धानको खेती भएको कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिए ।