कैलाली कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ। जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।
कारागारका जेलर प्रकाश ढुंगानाका अनुसार चौधरीलाई दिउँसो साढे २ बजेतिर रिंगटा लागेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याएको केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
चौधरीलाई २९ साउनमा जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
पछिल्लो दुई महिनाको अवधिमा कैलाली कारागारका तीन जना कैदीबन्दीको मृत्यु भइसकेको छ । बैंकिङ कसुरमा दोषी ठहर भएर कैलाली कारागारमा सजाय भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ का २८ वर्षीय हरिसिंह पालीको २ असारमा मृत्यु भएको थियो ।
२३ साउनमा भएको हिंसात्मक झडपमा धनगढी उपमहानगरपालिका– ४ का भरत चौधरीको मृत्यु भएको थियो ।