सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका प्रमुख साधनहरूको अभाव तीव्र बनेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार इम्प्लान्ट, डिपो र साइनाप्रेस दुई–तीन महिना अघिदेखि नै सकिएका छन् भने अन्य सामग्री पनि सकिँदै गएका छन्।
हाल मौज्दातमा कण्डम २ लाख, पिल्स (३,२४० साइक्ल) र IUD ३५० सेट मात्रै बाँकी छन्। तर पछिल्ला १३ महिनामा मात्र प्रदेशभर २३ लाखभन्दा बढी कण्डम, दुई लाखभन्दा बढी पिल्स, ७५ हजार डिपो र १६ हजारभन्दा बढी इम्प्लान्ट वितरण भएको तथ्यांक छ।
सबैभन्दा बढी खपत कैलाली (४०%) र कञ्चनपुर (२०%)मा हुने गरेको छ। आपूर्ति नहुँदा महिलाहरू विशेष गरी बढी प्रभावित हुने देखिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। गर्भनिरोधक साधन नपाउँदा अनिच्छित गर्भ, गर्भपतन र महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने चिन्ता बढेको छ।
निजी अस्पताल र क्लिनिकहरूले पनि सबै प्रकारका साधन उपलब्ध गराउन नसकेको जनाइएको छ। यस्तै क्षयरोग उपचारका औषधि पनि संघीय सरकारको आपूर्ति नहुँदा बजारमा अभाव देखिएको छ।