निरु चौधरी / बेलाैरी, कञ्चनपुर—
भारतसँग जोडिएका सीमा क्षेत्रहरुमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि कञ्चनपुर उच्च जोखिममा परेको छ। यही जोखिमलाई मध्यनजर गर्दै बिहीबार बेलौरी नगरपालिकाको सभाहलमा बर्ड फ्लु नियन्त्रण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कञ्चनपुरको आयोजनामा भएको उक्त कार्यक्रममा किसान, कुखुरापालक, व्यापारी, जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी विशेषज्ञहरूले बर्ड फ्लुको स्वरूप, पंक्षी र मानिसमा देखिने लक्षण, संक्रमण फैलिने तरिका र बच्ने उपायबारे विस्तृत जानकारी दिएका थिए। उनका अनुसार यो रोग प्रायः कुखुरा, बतख, हाँस र टर्कीमा देखापर्छ भने संक्रमित पंक्षीसँग नजिक सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सर्न सक्छ।
पंक्षीमा अचानक मृत्यु, खाना नखाने, पखाला, टाउको र घाँटी सुन्निने तथा अण्डा उत्पादन घट्ने लक्षण देखा पर्छ भने मानिसमा उच्च ज्वरो, खोकी, टाउको दुखाइ, सास फेर्न गाह्रो हुने र कहिलेकाहीँ निमोनियाजस्तो गम्भीर अवस्था देखिन सक्छ।
संक्रमण प्रायः संक्रमित पंक्षीको लाह, पखाना, नाक–मुखको रस वा संक्रमित मासु–अण्डाबाट फैलिने भएकाले खोर सफाइमा विशेष ध्यान दिन, पञ्जा र मास्क प्रयोग गर्न, मासु तथा अण्डा राम्ररी पकाएर मात्र खाने र शंकास्पद लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न विशेषज्ञहरूले सुझाव दिएका छन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कञ्चनपुरलाई उच्च संवेदनशील क्षेत्रको रूपमा लिइएको बताए। उनले भने, “हामीले जोखिमलाई गम्भीरतापूर्वक लिएका छौं। सीमा क्षेत्रमा निगरानी कडाइ गरिएको छ, भने किसान र व्यापारीलाई सचेत गराइएको छ।,
बर्ड फ्लु नियन्त्रण सबैको सहकार्यबिना सम्भव छैन। समयमै सावधानी अपनाउन सके मात्र सम्भावित क्षति न्यूनीकरण गर्न सकिन्छ।” उनले थपे कि प्रशासनले सीमा क्षेत्रमा निगरानी बढाउने, अनुगमन टोली परिचालन गर्ने र पंक्षी व्यवसायलाई दर्ता तथा नियन्त्रणमा ल्याउने तयारी गरिरहेको छ।
कार्यक्रममा सहभागी किसानहरूले रोगको सम्भावित असरले आफ्नो व्यवसायमा ठूलो क्षति हुने चिन्ता व्यक्त गरेका छन् । बेलौरी–४ का एक कुखुरा व्यवसायीले भने, “हामीले धेरै लगानी गरेर पोल्ट्री व्यवसाय अघि बढाएका छौं। यदि रोग फैलियो भने ठूलो आर्थिक क्षति हुन्छ।,
सरकारले समयमै खोप, औषधि र राहतको व्यवस्था मिलाए हामीलाई राहत मिल्ने थियो।” किसानहरूले सुरक्षित दाना प्रयोग, खोर सफाइ, बिरामी पंक्षीको व्यवस्थापन र बजारमा भारतबाट भित्रिने कुखुरा अण्डा माछा मासुको अनुगमनमा कडाइ गर्न पनि माग गरे।
स्वास्थ्यकर्मीहरूले मानिसमा संक्रमणको जोखिम उल्लेख गर्दै मासु वा अण्डा राम्ररी पकाएर मात्र सेवन गर्ने, पंक्षीसँग प्रत्यक्ष सम्पर्कमा काम गर्दा मास्क र पञ्जा प्रयोग गर्ने तथा लक्षण देखिए तुरुन्त सम्बन्धित निकायलाई खबर गर्ने सुझाएका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार बेलौरी, पुनर्वास, बेलडाँडी, दोधारा–चाँदनी र भीमदत्त नगरपालिकाका संवेदनशील क्षेत्रमा पनि यस्तै सचेतना कार्यक्रम क्रमशः सञ्चालन गर्दै जोखिम न्यूनीकरणका लागि तयारी थालिएको छ।
प्रशासनले अनुगमन टोली परिचालन गर्ने, किसान र व्यापारीलाई सचेत गराउने, सुरक्षा निकायसँग समन्वय गरी रोगको प्रसार रोक्ने तथा स्थानीय सञ्चार माध्यममार्फत निरन्तर जानकारी प्रवाह गर्ने योजना बनाएको छ।
कञ्चनपुरमा पछिल्ला वर्षहरूमा पोल्ट्री व्यवसाय तीव्र गतिमा फैलिएको छ। यसले स्थानीय रोजगारी, आम्दानी र पोषणमा महत्वपूर्ण योगदान पुर्याएको छ।
तर सीमापारि संक्रमण देखिएको पृष्ठभूमिमा बेलौरीमा गरिएको सचेतना कार्यक्रमले सम्भावित संकट टार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेषज्ञहरूका अनुसार समयमै सावधानी अपनाइएमा रोग नियन्त्रण सम्भव छ र आर्थिक क्षति न्यून गर्न सकिन्छ।
सचेतना कार्यक्रमले किसान, व्यापारी, सुरक्षाकर्मी र स्थानीय समुदायलाई रोगको गम्भीरता बुझ्न र सक्रिय कदम चाल्न प्रेरित समेत गरेको छ।
सुरक्षाकर्मी, जिल्ला प्रशासन र भेटेनरी कार्यालयले निरन्तर अनुगमन, सचेतना कार्यक्रम र प्रशिक्षण मार्फत बर्ड फ्लु नियन्त्रणमा सतर्कता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।