Advertisement
Skip This
ट्रेण्डिङ

आज गौरापर्वको मुख्य दिन, अठ्यावाली मनाइँदै

होमपेज / समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • १५ भदौ २०८२ (२ महिना अघि)
  • १८६

गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवम् दुर्वाष्टमी पर्व मनाउँछन् । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ ।

हिजो बेलुका गौराघरमा भित्र्याएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला अर्थात् आँगनमा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताउनुभयो । बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न) ले गौरादेवीको पूजा गर्ने गरेका छन् ।

हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्छन् । गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । बर्तालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तको दीर्घायुको कामना गर्दै पुज्ने गर्छन् ।

पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्छन् । गौरा मनाउन परदेशिएकाहरू घर फर्किने तथा विवाहित चेलीहरू पनि माइत आउने चलन छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास रहेका अन्य क्षेत्रमा पनि यो पर्व मनाउने गरिन्छ । काठमाण्डौको टुँडिखेलमा पनि देउडा गीत र नाच नाच्ने गरिन्छ ।

गौरापर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज र भोलि सार्वजनिक बिदा दिइएको छ । सरकारले आज र प्रदेश सरकारले भोलि गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।

अन्तिम अध्यावधिक: १५ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस